तपाईँ सुन्दै हुनुहुन्छः

कारागारबाट सिकेको ज्ञान र सीपलाई समाज सुधारमा उपयोग गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारबाट छुटेपछि कारागारमा सिकेको सिप र ज्ञानलाई समाज सुधारका लागि उपयोग गर्नुपर्ने बताउनुभएको छ । 

विराटनगर कारागारमा आज आयोजित डबल डेकर बेड हस्तान्तरण कार्यक्रममा उहाँले कारागार सजायका लागि नभई मानिसको आचरण सुधारका लागि भएकाले कारागारको कैद काटिसकेपछि फेरी कारागारमा उहाँले आउनु नपर्ने गरी आफूलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कैद काटेर राम्रा काम गर्न सके त्यस्ता व्यक्ति समाजका लागि वाल्मीकि बन्न सक्ने बताउनुभयो ।

कारागारले मानिसलाई अनुशासित र भाषिक रुपमा सभ्य बनाउने भएकाले कारागारबाट निस्केपछि समाज सुधारको दूतको रुपमा काम गरेर देखाउन उहाँले आग्रह गर्नुभयो । 

लोकतान्त्रिक आन्दोलनमा आफु पनि कारागारमा बसेको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले त्यहाँबाट धेरै कुरा आफूले सिकेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका सबै कारागारलाई होस्टेल र सीपमूलक केन्द्रको रुपमा विकास गर्न लागेको बताउनुभयो । कतिपय अवस्थाका कारण मानिसहरूले अपराध गर्ने गरेकाले कारागारका सजाय काटेर समाजमा  आएका व्यक्तिलाई सकारात्मक रुपमा हेर्न आग्रह गर्नुभयो ।

उहाँले कारागारमा रहेका व्यक्तिको मानव अधिकार रक्षा, सेवा सुरक्षा तथा उनीहरुलाई हर प्रकारको कानुनी सहायताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

केन्द्रिय कारागार व्यवस्थापन विभागका महानिर्देशक काशिराज  दाहालले कारागारको सुधार एवं व्यवस्थापनका  लागि सरकारले ठुलो लगानीमा कारागारमा पूर्वाधार निमार्णको कामलाई अघि बढाएको बताउनुभयो । उहाँले कारागारबाट बाहिर निस्केपछि आफूले सिकेका  सिपलाई प्रयोग गर्न सके त्यसबाट राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई तथा जिल्ला कारागार मोरङका  प्रमुख कृष्णहरी न्यौपानेले कारागारमा रहेको कैदीवन्दीहरुको सुविधाका लागि सुत्न सहज होस् भन्ने उद्देश्यले बेड हस्तान्तरण गरिएको बताउनुभयो ।  

सो अवसरमा सिद्धार्थ बैङ्कले उपलब्ध गराएको ३१ थान डबल डेकर बेड कारागारका चौकीदारलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button