तपाईँ सुन्दै हुनुहुन्छः

‘संसद्लाई प्रभावकारी बनाउने विषयमा सरकार जिम्मेवार बन्नुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको अवसरमा आजको बैठकमा दलीय हिसाबमा विभिन्न राजनीतिक दलका नेताहरूले धारणा राख्नुभएको छ ।

बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले संसद् र संसदीय समितिलाई थप व्यवहारिक बनाउन काम गर्ने तरीका बदलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । सांसद थापाले संसद्ले कार्यतालिका बनाएर अगाडी बढ्ने, संसदीय समितिलाई थप व्यवहारिक बनाउने तथा संसद्लाई बिजनेश दिने सरकारको प्रतिबद्धता आएकाले सबै जिम्मेवार भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । 

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसद्लाई प्रभावकारी बनाउने विषयमा सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । प्रमुख सचेतक गिरीले नेकपा एमाले संविधानको कार्यान्वयन र नयाँ कानुन निर्माणमा सम्पुर्ण ध्यान केन्द्रित गरेर अगाडी बढ्ने भन्दै मुलुकमा सुशासन कायम गर्ने र भ्रष्ट्राचारीलाई कारबाही गर्ने कुरामा सदनमा सघन रुपमा कुरा उठाएर अगाडी बढ्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको भन्दै यो पहललाई तीव्र बनाउन संसद्को खबरदारी, सहयोग र साथ आवश्यक भएको बताउनुभयो । उहाँले देशको समृद्धिका लागि प्रदेशमा रहेका साधन स्रोतको सही उपयोग गर्न सक्ने क्षमता अभिवृद्धि गरेर जान सकेमा देश आर्थिक रुपमा अगाडी बढ्न सक्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका विषयमा मात्रै नभई    मुलुकको आवश्यकताका आधारमा सर्वदलीय बैठक बस्नुपर्ने बताउनुभयो । सभापति लामिछानेले मुलुकको आर्थिक शिथिलता हटाउने, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान, परराष्ट्र मामिला लगायतका विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसद्बाट अगाडी बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन कायम नहुनुमा वर्तमान निर्वाचन प्रणाली, नियुक्ति प्रणाली, ऐन निर्माण गर्ने विधि भएको दाबी गर्दै देश यही अवस्थामा रहिरहन नसक्ने भएकाले अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले तराई क्षेत्रमा पानीको सतह धेरै तल पुगेको कारण मरुभूमि बन्ने अवस्था आएको भन्दै चुरे क्षेत्रको संरक्षणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेले सङ्घीयताको कार्यान्वयनलाई बल पुग्ने गरी विधेयकहरू सदनमा आउनु पर्ने र कानुन निर्माणमा संसद्को यो अधिवेशनले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खांनले सरकारमा भएका दलले नै सुशासनका विषयमा प्रश्न गर्नुपर्ने अवस्था किन आयो भन्ने कुराप्रति सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्र नाथ शुक्लले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको अधिकतम सहमतिबाट विधायनको कार्यलाई अगाडी बढाउन सकिने भन्दै जनअपेक्षा अनुसार काम गर्न आग्रह गर्नुभयो । 

नागरिक उन्मुक्ति पार्टीका सांसद लालविर चौधरीले जनताका सरोकार र मुलुकको विकासका विषयमा सबै दलहरू एक भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्को हिउँदे अधिवेशन देशको सार्वभौमिकता र कामदार वर्गको हितमा विधेयक पारित हुने, सरकारलाई निर्देशन गर्ने र सो निर्देशन कार्यान्वयनको अनुगमन गर्न सफल हुने अपेक्षा गरेको बताउनुभयो ।

यस्तै, राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्र बहादुर केसीले आफैले बनाएका नियम कानुन व्यवहारमा लागु गर्न नसकेको भन्दै यसको कार्यान्वयनमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

बैठकमा स्वतन्त्र सांसदहरु प्रभु शाह र अमरेश कुमार सिंहले संसद्लाई जनताको हितमा काम गर्ने गरी प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button