तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा महिलाहरू नै पञ्चेबाजा संरक्षणमा जुटे

नेपालगञ्ज । बाँकेमा महिलाहरू नै पञ्चेबाजा संरक्षणमा जुटेका छन् । समूह नै बनाएर महिलाहरू पञ्चेबाजा संरक्षणमा जुटेका हुन् । कौशिलानगरमा महिलाहरूकै नेतृत्वमा लालीगुराँस पञ्चेबाजा संरक्षण समिति बनाइएको छ । दलित महिलाहरूको त्यही समितिले बाजा संरक्षणका लागि काम गरिरहेको छ । पञ्चेबाजाको संरक्षण हुने र आम्दानी पनि हुने भएकाले महिलाहरू यसमा लागेको बताउँछन् ।

समितिले १५ जना महिला र १५ जना पुरुषको समूह बनाएको छ । बाजा बजाउन सबैले १५ दिनको तालिम लिएका छन् । उक्त समूहले महिला र पुरुष मिलेर वा एक्लाएक्लै बाजा बजाउँछन् । महिलाको मात्रै माग आयो भने महिला मात्रै जान्छन् भने पुरुष समेत मिसाएर बोलाएमा त्यही अनुसार जाने गर्दछन् । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, नेपालगञ्जमा हुने महोत्सव, र्‍याली, विवाहमा महिलाले पञ्चेबाजा बजाउने गरेका छन् ।

समितिका उपाध्यक्ष सुर दमाईले बोलाएको ठाउँमा बाजा बजाउन जाने गरेको बताउनुभयो । पुरुषले समेत बाजा बजाउन छोड्दै गएको बेलामा कौशिलानगरका दलित महिला बाजा बजाउन अगाडि सरेर नेपाली संस्कृतिको संरक्षण र विकासमा लागेका छन् । उनीहरूले कार्यक्रम हेरेर पारिश्रमिक लिने गरेको बताउँछन् । ठूला कार्यक्रममा दिनको २० हजारसम्म लिने गरेको दमाई बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button