तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभाको छैटौँ स्थापना दिवस सम्पन्न

जनकपुरधाम । मधेश प्रदेश सभाको छैटौँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ ।

प्रदेश सभा सचिवालयको परिसरमा आयोजित प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोह समितिको उद्घाटन मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख मिश्रले प्रदेश सभामा जनताको पक्षमा प्रदेश सरकार तथा सरोकारवाला अन्य निकायहरूको ध्यानाकर्षण गर्दै आउनुभएका नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरलाई उत्कृष्ट प्रदेश सभा सदस्य तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूमध्ये जानकी प्रसाद साहलाई दोसल्ला, कदर पत्र तथा नगद सहित सम्मानित गर्नुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जनताको ठूलो सङ्घर्ष तथा बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई बलियो बनाउनुको कुनै विकल्प नभएको बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारले मधेश प्रदेशको विकासलाई प्राथमिकतामा राखेर सुशासनलाई ध्यानमा राखेर काम अगाडी बढाएको बताउनुभयो ।

उहाँले प्रहरी समायोजन तथा निजामती कर्मचारीको समायोजनसहित सङ्घीयतालाई बलियो बनाउनका लागि प्रधानमन्त्री गम्भीर रहेको बताउँदै प्रधानमन्त्री ज्यूको अध्यक्षतामा माघ २४ गते हुने अन्तर प्रदेश बैठकले ठोस निर्णय लिने आशा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवले सङ्घीयतालाई थप बलियो बनाउनका लागि दलहरूका बीचमा अझै एकता तथा सहकार्यको आवश्यकता भएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले कृषि मन्त्रालयले किसानको पक्षमा काम गरिरहेको बताउँदै मन्त्रालयले योजना वितरण गर्ने काम बन्द गरेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारको कामले जनतामा परिवर्तन भएको अनुभूति गराउने किसिमले हुन जरुरी रहेको बताउनुभयो ।

सभापतिको आसनबाट मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीयतलाई बलियो बनाउने गरि प्रदेश सभा तथा प्रदेश सरकार मिलेर काम गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उपसभामुख बविता राउत ईसर, नेकपा माओवादी केन्द्रका माला कर्ण, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपनेता उपेन्द्र महतो, जनमत पार्टीका अनिता साह, नेपाल संघीय समाजवादी पार्टीका प्रदेश सभाका सदस्य विमला अन्सारी, नागरिक उन्मुक्ति पार्टीका उर्मिला देवी सिंह, वार्षिकोत्सव मूल समारोह समितिका संयोजक कञ्चन विच्छा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसहितका वक्ताहरूले बोल्नुभएको थियो ।

प्रदेश सभाले कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि आयोजना गरिएको संघीयतासम्बन्धी निबन्ध प्रतियोगितामा प्रथम हुने सरस्वती माध्यमिक विद्यालय जनकपुरधामका कक्षा ९ का छात्रा प्रेरणा अधिकारी, द्वितीय हुने पर्साका कक्षा १२ का छात्र आदित्य जयसवाल र तृतीय हुने मिटका कक्षा ११ का छात्र आशिष कर्णलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीले प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका महिला सदस्यहरूका बीचमा भएको म्युजिकल प्रतियोगितामा विजयीहरूलाई पनि प्रशंसा पत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरू पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button