तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज युनाइटेडलाई तेस्रो मनहर्वा गोल्डकपको उपाधि

बारा । वीरगन्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधि जितेको छ ।

जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रिगल हेटौँडा रिसोर्टलाई २–० ले पराजित गर्दै वीरगन्जले उपाधि हात पारेको हो ।

वीरगन्जको जीतमा विशाल खड्का र अमर डङ्गोलले समान एक/एक गोल गरे । विशालको गोलबाट खेलको ३५ औँ मिनेटमा अग्रता लिएको वीरगन्जका लागि अमरले ८८ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । हेटौँडाले उपविजेतामा चित्त बुझाएको छ ।

उपाधि विजेताले वीरगन्जले दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौँडाले एक लाख प्राप्त गरेको छ ।

विधागत पुरस्कारतर्फ वीरगन्जले वर्चश्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वीरगन्जका अमर डङ्गोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारे ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं. १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्व अध्यक्ष बसन्त खतिवडा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

माघ १३ गतेदेखि आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button