तपाईँ सुन्दै हुनुहुन्छः

‘पार्टीमा एकता, सहमति, सहकार्य र सङ्घर्ष एकैसाथ अगाडी बढाउनुपर्छ’

वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको सुदृढीकरणका लागि कांग्रेसका आम कार्यकर्ताबिच एकता, सहमति, सहकार्य र सङ्घर्ष एकैसाथ अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तरगत आज नेपाली कांग्रेस पर्साद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र देखिएको मतभेदलाई अन्त्य गर्न अभियान सफल हुने बताउनुभयो ।

उहाँले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिनुभयो ।

उहाँले मुलुकको पुँजीगत खर्च मात्रै राम्रोसँग गर्ने हो भने देश अग्रगामी दिशामा अगाडी बढ्ने दाबी गर्दै पुँजीगत खर्च बढाउन काँग्रेसले जिम्मेवारी लिँदै पहल गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद अजय चौरसिया, कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद अनिल रुंगटा, प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यस अघि आजै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्जबाट प्रकाशित अङ्कुश दैनिकको २५ औँ वार्षिकोत्सवकाे अवसरमा आयोजित रजत महोत्सवलाई सम्बोधन गर्दै राज्यलाई सुधार्ने जिम्मा सञ्चार माध्यमको भएकोमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button