तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा दक्षिण एशियाली चलचित्र महोत्सव हुँदै

चितवन । पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव हुंँदैछ ।

क्याराभान नेपालको आयोजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महोत्सव गरिने आज रत्ननगरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले जानकारी दिनुभयो ।

समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरू रहने छन् । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा सूक्ष्म रुपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानाकर्षण गराइने उहाँको भनाई छ ।

रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने महोत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीहरूको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथा कथनको समृद्धिको उत्सवका रुपमा कथानक चलचित्र, वृत्तचित्र, लघु चलचित्र बीच प्रतिस्पर्धा गराइने छ ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहन सो महोत्सवको अन्य सहयोगी संस्थाको रुपमा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाउँपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका, हेटौडा उपमानहनगरपालिका छन् ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरूको प्रदर्शन, चलचित्रकर्मीहरूको जीवनी सम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तरक्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी चितवन र पश्चिम चितवनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिनुभयो ।

महोत्सव मुल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभलले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताउनुभयो । । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरू राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाईँ, सरोज विरही, ज्योति मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डको प्रस्तुति रहने छ ।

क्याराभान नेपालले यस अघि वीरगन्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शन सम्बन्धी फेस्टिभल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button