तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा पोषण सुधारको अवस्था नाजुक, एकै वर्षमा ७ बालबालिकाको मृत्यु  

दाङ ।लुम्बिनी प्रदेशमा कुपोषित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । जसकार कारण यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । गत वर्ष मात्र कुपोषणकै कारण ७ बालबालिकाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष लुम्बिनी प्रदेशका १२ मध्ये ६ जिल्लाका ७ जनाको मृत्यु भएको हो । बाँकेमा २ जना, बर्दिया, कपिलवस्तु, प्युठान, रोल्पा र पश्चिम नवलपरासीमा एक/एक जनाको मृत्यु भएको थियो ।

लुम्बिनीका १२ वटै जिल्लामा गत वर्ष १ हजार ९ सय ९२ जना बालबालिका कुपोषित भएको फेला परेका थिए । यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराउन जाने बालबालिकाको मात्र हो । कुपोषित बालबालिकाको सङ्ख्या सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिर अझै ठूलो रहेको स्वास्थ्य निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो । सरकारको तथ्यांकअनुसार लुम्बिनीमा सबैभन्दा धेरै बाँकेमा र कम अर्घाखाँची र रुकुम पूर्वमा कुपोषणका बिरामी छन् ।दाङमा २ सय ३२, बाँकेमा ४ सय २५, रुपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६,  पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्युठानमा ३५, गुल्मीमा ३४, पाल्पामा १०, अर्घाखाँची र रुकुम पूर्वमा ५/५ जना बिरामी छन् ।

तथ्याङ्कले कुपोषणका बिरामी पहाडमा भन्दा तराईमा बढी देखाएको छ । सरकारले कुपोषणग्रस्त बालबालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ,लुम्बिनी प्रादेशिक अस्पताल बुटवल,  र भेरी अस्पताल बाँकेमा कुपोषण पुनःस्थापना केन्द्र पनि सञ्चालन गर्दै आएको छ । केन्द्रमा बच्चाहरूको उपचारका लागि बेड, पोषणयुक्त आहार र आमाको बसोबासको व्यवस्था पनि हुन्छ । पोषण फोकल पर्सन भण्डारीका अनुसार बुटवल र दाङमा १० र बाँकेमा १७ बेड क्षमताका केन्द्र छन् । तर, केन्द्रमा भर्ना भएर उपचार गर्ने बालबालिकाको सङ्ख्या न्यून छ ।

 सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न हरेक वर्ष करोडौँ रकम खर्च गर्ने गरे पनि कुपोषित बालबालिकाको सङ्ख्या घट्न सकेको छैन । प्रदेश र संघीय सरकारले बालबालिकामा ख्याउटेपन, पुड्कोपन र कम तौलको अवस्था सुधार गर्न हरेक वर्ष २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । लुम्बिनीमा सुआहारा, युनिसेफलगायतका गैरसकारी संस्थाले पनि पोषण सुधारका लागि कार्यक्रम गरिरहेका छन् । तर, कुपोषणग्रस्त बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button