तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटबाट करिब ८ करोड बढीको खाद्यान्न निर्यात

जाजरकोट । जाजरकोटबाट करिब ८ करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१को पुष मसान्तसम्म जाजरकोटबाट आठ करोड ८ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म खाद्यान्न तर्फको मकै मात्रै ९५ लाख मूल्य बराबरको जिल्ला बाहिर निर्यात गरिएको कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माको अनुसार ४५ लाख बराबरको तरकारी, २ करोड ४० लाख बराबरको घरेलु मह र ५० लाख भन्दा बढी भीर मौरीको मह विक्री वितरण भएको छ ।

यस्तै, जिल्ला बाहिर निर्यात हुनेमा ४८ हजार बराबरको कोदो, १ लाख ९० हजार बढीको मुसुरो, ९० हजार बढीको मास, २४ लाख बढीको तिल निर्यात भएको विश्वकर्माले बताउनुभयो । भटमास १२० मेट्रिक्टन उत्पादन भएको थियो । १ करोड २६ लाख बढी मूल्यको भटमास जिल्ला बाहिर गएको छ ।

१ करोड ५० लाख बढीको लसुन जिल्ला बाहिर निर्यात भएको कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा विभिन्न खाद्य, तरकारी, फलफूल गरी ८ हजार ८५ मेट्रिक्टन खाद्यान्न उत्पादन भएको थियो । निर्यात हुने खाद्य तथा कृषि वस्तुको मुख्य बजार नेपालगञ्ज, सुर्खेत, चितवन, काठमाडौं, धनगढी, पोखरा, वीरगञ्ज लगायतका शहर हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button