तपाईँ सुन्दै हुनुहुन्छः

‘१६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताउनुभएको छ । उहाँले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले १६औँ राष्ट्रिय योजना निर्माणको सवालमा मन्त्रालयमा आज गरिएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभयो । डिजिटल रूपान्तरणबिना मुलुकको समृद्धि सम्भव नभएकाले अब राज्यको प्राथमिकता र लगानी यसमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कका आठ क्षेत्र डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारमध्ये डिजिटल पूर्वाधारको क्षेत्र सञ्चार मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको र बाँकी सात क्षेत्र सम्बन्धित मन्त्रालयका कार्यक्षेत्रभित्र रहेकाले डिजिटल नेपाल निर्माणका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायको प्राथमिकता निर्धारण गर्ने गरी आगामी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा बजेटभन्दा पनि उपयुक्त सोच र योजनाको अभावले विकास हुन नसकेको औँल्याउँदै मन्त्री शर्माले अब योजना बनाउँदा गर्न सकिने र गर्नैपर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि परियोजना बैङ्कको अवधारणा अघि सार्न सकिने उहाँले स्पष्ट पार्नुभयो । परियोजना बैङ्क बनाएर त्यसलाई कार्यान्वयन गर्न सरकारले कति लगानी गर्ने, दातृ निकायको कति लगानी खोज्ने र जनश्रमलगायत अन्य स्रोतको पहिचान कसरी गर्ने भनेर योजना बनाउँदा नै ध्यान दिन मन्त्री शर्माले सुझाव दिनुभयो ।

छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य द्वय डा प्रभु बुढाथोकी र डा अनिता शाह ढुङ्गाना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीसहित मन्त्रालय र आयोगका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button