तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम तराइका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्ष, माघीको रौनक

कञ्चनपुर । देशभर आज माघे सङ्क्रान्ति पर्व मनाइएको छ । बिहानै पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकोले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिएको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताउनुभयो । माघे सङ्क्रान्ति पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा ठाउँ ठाउँमा मेला महोत्सव आयोजना गरिएका छन् ।

यता सुदूरपश्चिमको पहाडी समुदायले नरहरि सङ्क्रान्ति मनाएका छन् भने थारु समुदायको माघी पनि आजै बाट सुरु भएको छ । कञ्चनपुरसहित पश्चिम तराइका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने माघीको रौनक छ । हिन्दु समुदायका सबैजसोले माघ महिनालाई पवित्र महिनाको रूपमा मनाए पनि थारु समुदायले भने नयाँ वर्षकै रूपमा मनाउँदै आएका छन् ।

माघी पर्वका अवसरमा थारु समुदाय गाउँका भलमन्साको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । यसै समयमा सबैले आपसी सहमतिबाट एक वर्षका लागि गाउँको नाइकेका रूपमा भलमन्सा, चाकर आदि छनोट गर्ने गरेको थारु अगुवा एवं भलमन्सा बजारे चौधरी बताउनुहुन्छ । यसले संस्कृति सम्वर्द्धनसंँगै थारु बस्तीमा लोकतान्त्रिक परम्परामा पनि सहयोग पुर्‍याएको छ । आधुनिक गीतसङ्गीतमा रमाएका थारु युवाहरू माघीको समयमा मात्रै भए पनि आफ्नै संस्कृतिमा रमाउन पाउँदा निकै खुसी देखिन्छन् । अहिले ठाउँ ठाउँमा माघी मेला लागेका छन् । बस्ती बस्तीमा रौनक बढेको छ ।

यसैबिच थारु कल्याण कारिणी सभा बेलौरीको आयोजना तथा बेलौरी नगरपालिकाको प्रवर्द्धनमा पुस २६ देखि २८ गतेसम्म ‘बेलौरी माघ म्याला’ सम्पन्न भएको छ । त्यस्तै, पुस २९ गतेका दिन बेलौरी नगरपालिका वडा नम्बर ७ को आयोजनामा माघी मिलन कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

यो सँगै थारु समुदायमा माघीका गीतहरू समेत गुन्जिन थालेकाले थप रौनक छाएको छ । युवाहरू आफ्नै भेषभुषामा नाच्ने गाउने गरिरहेका छन् । गीत सङ्गीतको माध्यमबाट थारु कलाकारहरू थारु भाषा, कला, संस्कृति र भेषभुषाको जगेर्नामा जुटेका छन् । नाचगान र रमाइलोसँगै माघीका भाकाहरू पनि फेरिएका छन् । माघी पर्व अब चेतनाका भाकातिर मोडिँदै छ । माघी पर्वलाई अब चेतना र परिवर्तनतिर उन्मुख गराउन थालिएको थारु पत्रकार सरिता चौधरीको धारणा छ । प्रायः जसो रमाइलो गर्ने गीत मात्र सुन्न पाइने थारु बस्तीमा अहिले आपसी मेलमिलाप र चेतनाका स्वर घन्किन थालेका छन् । सबै दाजुभाइ मिलेर संस्कृति जोगाउनुपर्ने सन्देश दिएका यस्ता गीत अधिकांश थारु बस्तीमा गाइन थालेका छन् ।

मगर समुदायले पनि माघे सङ्क्रान्ति पर्वलाई विविध कार्यक्रमका साथ मनाएका छन् । यस पर्वले सबै जातजाति, समुदाय र नेपाली माझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवर्द्धन गर्न सबैलाई प्रेरणा मिलोस् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button