तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायले मनाए खिचडी महोत्सव

बुटवल । थारु समुदायको नयाँ वर्ष ‘२६४७’ एवम् माघी पर्वको पूर्व सन्ध्यामा बुटवलका थारु समुदायले माघी (खिचडी) पर्व मनाएका छन् ।

थारु समाज बुटवलको आयोजनमा थारु जातीय संस्कृति झल्किने भेषभुषा, खाना र विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव मनाइएको हो ।

थारु जातीको भाषा, संस्कृति र भेषभुषा लोप हुन लागेकाले यसको जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको थारु कल्याणकारी संघका अध्यक्ष कल नारायण थारुले जानकारी दिनुभयो । थारु समुदायको आफ्नै मौलिक संस्कृति भए पनि पछिल्लो समय पश्चिमा देशको संस्कृति भित्रिएसँगै थारु संस्कृति ओझेलमा परेकाले संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले थारु संस्कृतिको प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो । उहाँले नेपालका थारु समुदायको संस्कृति उत्कृष्ट रहेको भन्दै थारु भाषालाई नगर वडापत्रमा समेत उल्लेख गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले नेपाल अनेकतामा एक रहेको भन्दै थारु जातीका संस्कृति सबै नेपालीका आफ्नै संस्कृति रहेको धारणा व्यक्त गर्नुभयो ।

अधिवक्ता नरसिंह चौधरीले थारु जाती राज्यका हरेक सेवा सुविधाबाट बञ्चित रहेको उल्लेख गर्नुभयो । उहाँले थारु जाती भूमि पुत्र भए पनि भूमिमा थारु जातीको अधिकार नभएको भन्दै राज्यले थारु जातीलाई विशेष अधिकार दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रुपन्देहीका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहित आएका थारु समुदायको बाक्लो उपस्थिति थियो । थारु जातीका पहिचान झल्किने भेषभुषा र खानाका परिकारमा अन्य जाती र समुदायका व्यक्तिहरू समेत रमाएका थिए ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button