तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा सभामुखका लागि आज दिउँसो ३ बजे निर्वाचन हुँदै

विराटनगर । कोशी प्रदेशमा सभामुख पदका लागि आज दिउँसो ३ बजे निर्वाचन हुँदैछ । प्रदेशसभाको कार्य व्यवस्थाको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो । 

प्रदेशसभा बैठक ३ बजेसम्मका लागि स्थगित समेत भएको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने निर्णय गरेको छ । 

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा विष्ट कोशी प्रदेशको सभामुख बन्न लाग्नुभएको हो । 

यता आज बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । ‘गठबन्धन बाहिरको उम्मेदवार भएकोले विष्टलाई समर्थन गर्ने र एमालेले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको उहाँले बताउनुभयो । 

गत साउनमा सभामुख पदबाट राजीनामा दिएर तत्कालीन सभामुख बाबुराम गौतम सरकार गठनमा सहभागी भएपछि कोशी प्रदेशमा सभामुख पद रिक्त रहँदै आएको छ ।

कार्यसूची अनुसार ११ः३० देखि १ः०० बजेसम्म सभामुखको उम्मेदवार मनोनयनको तालिका रहेको छ । १ः०० बजेदेखि १ः३० बजेसम्म दाबी विरोध, १ः३० देखि २ः०० बजेसम्म त्यसमाथि छानविन, २ः०० बजेदेखि २ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । २ः३० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ३ः०० बजे निर्वाचन हुने तालिका रहेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button