तपाईँ सुन्दै हुनुहुन्छः

वास्तविक किसानलाई सहुलियत ऋण दिन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी, तथा प्राकृतिक स्रोत समितिको बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका विषयमा छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालमा उत्पादन भएका केराले बजार नपाउने र अवैध रुपमा भारतबाट आयात भएको केरा सस्तोमा बिक्री हुँदा नेपाली किसानहरू मारमा परेको भन्दै केरा आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । 

केरा खेती गर्ने किसान र पशुपालनमा लागेका किसानका लागि सरकारले दिने सहुलियत कर्जा वास्तविक किसानले नपाएको भन्दै सांसदहरुले  सरकारले कृषिलाई प्राथमिकतामा नराखेको विचार व्यक्त गर्नुभयो । 

बैठकमा कृषि विकास तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डाक्टर गोविन्द शर्माले छिमेकी मुलुक भारतसँग खुला सीमाना भएका कारण कृषिजन्य सामानहरू अवैध रुपमा आयत हुने गरेको बताउँदै त्यसलाई रोक्न सरकारले प्रयास गरिरहेको बताउनुभयो । 

त्यस्तैगरी, मन्त्रालयका पशुपंक्षी विकास सचिव रेवतीरमण पौडेलले सरकारले पशुपालक किसानलाई सहज हुने गरी पशु कल्याण ऐनको मस्यौदा गरिरहेको जानकारी गराउनुभयो  । 

बैठकमा कैलालीमा केरा खेती गर्दै आउनुभएका कृषक दिपेन्द्र थारुले केरामा आत्म निर्भर हुने गरी उत्पादन बढाउन नेपाली किसानहरू सक्षम रहेको भए पनि आफूहरूले उत्पादन गरेको केराले बजार नपाएको गुनासो गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button