तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदीबाट हुने क्षति घटाउन तत्काल आधा पानीलाई गेरुवातिर पठाइने : उर्जामन्त्री बस्नेत

टीकापुर कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीबाट हुने क्षति घटाउन ३ वटा कामलाई सँगसँगै गर्नुपर्ने बताउनु भएको छ । कैलाली र बर्दियामा कर्णाली नदिले पुर्याएको क्षतिको अवलोकन पछि मन्त्री बस्नेतले कर्णाली नदिको पानी गेरुवा र दौलतपुर दुईतिर बाँड्नुपर्ने, उत्खनन् रोक्नु पर्ने र त्यसपछि तटबन्धन गरिनु पर्ने बताउनु भयो । 

मन्त्री बस्नेतले टीकापुर क्षेत्र दौलतपुर घाटतर्फ आइरहेको पानीलाई तत्काल आधा गेरुवा तिर पठाउने काम गरिने र अरू कामलाई पनि बिस्तारै गर्दै जाने आश्वासन दिनु भएको छ । 

मन्त्री बस्नेतले कैलालीमा रहेको राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजना, त्यसबाट उत्पादन हुन लागेको विद्युत् तथा त्यसको पावरहाउस, कर्णाली नदिले पुगाएको क्षतिको पनि अवलोकन निरीक्षण गर्नु भएको छ । 

सोही क्रममा नेकपा माओवादी केन्द्र नगर समिति टीकापुरले कर्णाली नदिलाई व्यवस्थित बनाउनुपर्ने, टीकापुरमा अत्याधुनिक चार्जिङ स्टेशन राख्नुपर्ने, कर्णाली नदी भित्रका टापुहरू हटाउनु पर्ने, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सीमा विवादका समाधान गरिनु पर्ने लगाएतका ११ बुँदे माग पत्र पनि बुझाएको छ । 

माग पत्र बुझ्दै मन्त्री बस्नेतले सकिने कामहरूलाई तत्कालै शुरु गरिने र अरूलाई प्राथमिकताका आधारमा गर्दै जाने आश्वासन दिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button