तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको एक वर्ष : नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक धमाधम छापिँदै

यसपाली पनि समयमै पाठ्यपुस्तक पुर्‍याइने

विगत लामो समयदेखि समय मै पाठ्यपुस्तक नपाउने समस्याबाट विद्यार्थीहरू मुक्त भएका छन् । चालु शैक्षिक सत्र सुरु भएसँगै सरकारको विशेष पहलमा समयमै पाठ्यपुस्तक पाएका विद्यार्थीहरू आउने शैक्षिक सत्रमा समेत समयमै पाठ्यपुस्तक पाउने आशामा छन् । 

जनक शिक्षा सामग्री केन्द्र यसपटक पनि समयमै छपाइ गरी पाठ्यपुस्तक बिक्री वितरणमा पठाउने गरी काममा जुटेको छ । 

त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रमा कक्षा ६ देखि १२ सम्मको पाठ्यपुस्तक धमाधम छपाइको काम भइरहेको छ । गत वर्ष समयमै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्‍याउन सफल जनक शिक्षालाई यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउनु छ । 

विगत लामो समयदेखि शैक्षिक सत्र सकिन लाग्दा पनि पाठ्यपुस्तक नपाएर राम्रोसँग पढ्न नपाएका विद्यार्थीहरू गत वर्ष समयमै पुस्तक पाउँदा हर्षले रमाएनन् मात्रै नयाँ कक्षामा भर्ना हुनासाथै नयाँ किताब पढ्न पाउँदा उनीहरूमा नयाँ ज्ञान आर्जन गर्ने उत्साह पनि मिलेको थियो । 

सहजै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारदेखि कर्मचारीसम्मको सहयोगले सम्भव भएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताउनुभयो । गत वर्ष तीन वटा मेसिन थप हुनु र सरकारको विशेष निगरानीले गर्दा यस पटक सबै विद्यार्थीले पाठ्यपुस्तक नपाएर छट्पटाउनु परेन । 

त्यसो त गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै पाठ्यपुस्तक पुर्‍याउन सरोकारवाला निकायलाई  निर्देशन दिनुका साथै प्रधानमन्त्री कार्यालयले  विशेष अनुगमनसमेत गरेको थियो । त्यसपछि निरन्तर काममा जुटेको जनक शिक्षाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुनु अघि नै देशभरका सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुर्‍याउन सफल भएको हो । 

गत वर्षको तुलनामा यस वर्ष कच्चा पदार्थको सहज आपूर्ति, २४ सै घण्टा मेसिन सञ्चालन र कर्मचारीहरूको मिहिनेतका कारण पनि शैक्षिक सत्र सुरु हुनु अघि नै सम्पूर्ण पाठ्यपुस्तक छपाइ सम्पन्न गरी विक्री वितरण गरिसक्ने तयारी गरेको केन्द्रले जनाएको छ । कतिपय पाठ्यपुस्तक ढुवानीका लागि तयारी भइसकेको छ भने कक्षा ३ सम्मका ठूला आकारमा उत्पादन गरिने पुस्तकहरू छपाइको काम पनि अघि बढेको छ ।

कक्षा १ देखि कक्षा १२ सम्म आवश्यक पर्ने झण्डै ४ करोड थान पाठ्यपुस्तक  छपाइको काम निरन्तर भइरहेकाले गत वर्षभन्दा सहजै समयमा पाठ्यपुस्तक पुर्‍याइने गरी काममा जुटेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा बताउनुहुन्छ ।

विगतका वर्षहरुमा निजी क्षेत्रको समेत सहयोगमा पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रले यस वर्षदेखि कक्षा १ देखि १२ सम्मको सबै पाठ्यपुस्तक  छपाइको काम आफै गर्न सक्षम रहेको र त्यसका लागि सरकारको निर्णय कुरेर बसेको  जनाएको छ  । 

विगत लामो समयपछि गत वर्ष समयमै पाठ्यपुस्तक बिक्री वितरण गर्न सफल भएको जनक शिक्षाले निरन्तरता कायम राखे आगामी दिनमा विद्यार्थीहरूले पाठ्यपुस्तक अभावको समस्या झेल्नुपर्दैन थियो की ?  

प्रतिक्रिया राख्नुहोस्

Back to top button