तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न सहायता कक्ष स्थापना

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष स्थापना गरिएको छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष स्थापना गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय पाल्पामा राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई विदेशमा रोजगार, अध्ययन तथा भ्रमणमा जाँदा ध्यान दिनुपर्ने कुरा, लिनुपर्ने सीप तथा ठगिनबाट जोगिने तरिका बारेमा तानसेन नगरपालिका, हेल्भेटास नेपाल र समी परियोजनाको सहयोगमा सहायता कक्ष स्थापना भएको हो । 

सहायता कक्ष स्थापना भएपछि रोजगारी, भ्रमण तथा अध्ययनका लागि विदेश जानेहरूले आवश्यक जानकारी तथा परामर्श पाउने छन् । यसले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ । सहायता कक्ष स्थापना भएपछि विदेश जान खोजेका नागरिकले विदेश जानु पूर्व ध्यान दिनुपर्ने विषयमा ज्ञान पाएका छन् । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले राहदानी लिनभन्दा पहिले सहायता कक्षबाट सेवा लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 

पाल्पामा जिल्ला प्रशासनबाट मात्रै राहदानी वितरण हुने भएकाले सहायता कक्ष जिल्ला प्रशासनमा निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।  लुम्बिनी प्रदेशका पहाडी जिल्ला मध्ये सबैभन्दा धेरै ७३ हजार जना विभिन्न प्रयोजनका लागि बिदेशिएको तथ्याङ्क छ । 

जिल्लामा पछिल्लो ४ वर्षको अवधिमा ८२ जनाको विदेशमा मृत्यु भएको छ । भने, १४ जना अङ्गभङ्ग भएर फर्किएका छन् । 

विदेश जान लागेकाहरूलाई लक्षित गरी निःशुल्क परामर्श दिनका लागि स्थापना गरिएको सहायता कक्षले वैदेशिक रोजगारी तथा अध्ययनका नाममा हुने ठगिबाट जोगिन, सुरक्षित र व्यवस्थित वैदेशिक यात्रामा सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button