तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्ध नरोक्ने इजरायली प्रधानमन्त्रीको अडान

काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दवाबका बाबजुद पनि इजरायलले हमाससँगको युद्ध अन्तिमसम्मै लड्ने बताउनु भएको छ ।

हमासलाई समाप्त गरेर मात्रै युद्ध रोकिने यस अघिको अडानमा नेतान्याहु अडिग हुनुहुन्छ । इजरायली विदेशमन्त्री इलि कोहेनले पनि अन्तर्राष्ट्रिय सहयोग र समर्थन भए पनि नभए पनि इजरायल गाजा युद्ध नरोकिने बताउनु भयो ।

अहिलेको अवस्थामा आएर युद्धविराम गर्नु भनेको आतंकवादी संगठन हमासका लागि फेरि संगठित हुन उपहार दिएजस्तै हुने उहाँको भनाइ छ । गाजामा ठूलो संख्यामा सर्वसाधारण नागरिक मारिएको र मानवीय संकटको अवस्था आएको भन्दै युद्ध रोक्न इजरायल माथि ठूलो अन्तर्राष्ट्रिय दवाब छ ।

संयुक्त राष्ट्रसंघीय महासभाले मंगलबार गाजामा युद्धविरामको माग गर्दै गैर-बाध्यकारी प्रस्तावलाई बहुमतले पारित गर्यो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध बमबारीले विश्वव्यापी समर्थन गुमाउन थालेको प्रतिक्रिया दिनुभएको छ ।

इजरायलले गरेको बमबारीबाट पीडित गाजाका नागरिकहरु भारी वर्षा र हावाहुरीका कारण थप प्रताडित बनेका छन् । रातभरको आँधीले आफ्नो घर छोडेर भागेका सयौं हजार प्यालेस्टिनीहरूको अवस्था झनै बिग्रिएको छ ।

इजरायली आक्रमणका कारण गाजामा १८ हजार ६ सयभन्दा बढी प्यालेस्टायनीको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button