तपाईँ सुन्दै हुनुहुन्छः

दुबई शिखर सम्मेलनको समयसीमा सकिँदा जीवाश्म इन्धनमा लडाइँ जारी

दुबई। पश्चिमी शक्ति र जलवायु परिवर्तनबाट सर्वाधिक खतरामा परेका मुलुकहरूले जीवाश्म इन्धनबाट बाहिर निस्किने बलियो मागका लागि तेल उत्पादक साउदी अरबविरुद्ध मङ्गलबार लडाइँ लडेका छन् । वार्ताकारहरूले दुबईमा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता (कोप२८) को समयसीमाभन्दा धेरै काम गरेका छन् ।

पेट्रोडलरमा निर्मित भड्किलो महानगर दुबईमा १३ दिवसीय कोप२८ शिखर सम्मेलनले तेल, ग्यास र कोइलाको पहिलोपटक ऐतिहासिक ‘चरणबद्ध समाप्ति’ माथि बहस गरेको छ । जीवाश्म इन्धनलाई पृथ्वीको तापक्रम बढाउने मुख्य दोषी मानिन्छ । 

यद्यपि संयुक्त अरब इमिरेट्स (युएई) को तेल कम्पनीका प्रमुख तथा कोप२८ का अध्यक्ष सुल्तान अल जाबेरले जीवाश्म इन्धनको कटौतीलाई धेरै विकल्पमध्ये एकका रूपमा सोमबार प्रस्तुत गर्नुभएको मस्यौदा असफल भएको छ । 

आफ्नो अस्तित्व खतरामा रहेको भनी तल्लो टापु मुलुकहरूले चेतावनी दिएपछि वार्ताकारहरूले रातभर काम गर्दै सर्वसम्मति खोज्ने प्रयास गर्न नयाँ मस्यौदाको वाचा गरेका छन् ।

वार्ताको नेतृत्व गर्ने जलवायुमन्त्रीहरूमध्येका एक डेनमार्कका डेन जोर्गनसनले जीवाश्म इन्धन समाप्त भइरहेको छ भनेर दुबई शिखर सम्मेलनमा स्पष्ट गर्न आवश्यक रहेको बताउनुभयो । “व्यक्तिगतरूपमा म एउटा शब्दमा बाँधिएको छैन तर यस ढाँचाको अर्थ हामीले जस्तो निष्कर्ष निकाले पनि अत्यन्त महत्त्वाकांक्षी हुनुपर्छ”, उहाँले भन्नुभयो । 

फ्रान्सेली ऊर्जामन्त्री एग्नेस प्यानियर–रुनाचरले ‘सम्भवतः स्पष्ट भाषा’ का लागि आह्वान गर्दै भन्नुभयो, “हामी सबैजना एकै ठाउँबाट आएका छैनौँ भन्ने कुरा सबैले स्पष्टरूपमा स्वीकार गर्नुपर्छ ।”

अमेरिका विश्वको शीर्ष तेल उत्पादक भए पनि अनुभवी अमेरिकी वार्ताकार जोन केरीले जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्न कडा भाषामा आग्रह गर्नुभयो । कोप२८ भन्दा अघि केरी आफ्ना चिनियाँ समकक्षीसँग भेट गरी नवीकरणीय ऊर्जालाई बढाउने एउटा सम्झौतामा पुग्नुभएको थियो । यसबाट विश्वका सबैभन्दा ठूला हरितगृह ग्यास उत्सर्जक मुलुकहरूबीचको जलवायुमा विश्वव्यापी कारबाहीमा अवरोध उत्पन्न हुने तनावलाई पन्छाउने आशा गरिएको छ ।  

“हामीसँग चीन लडिरहेको छ भनेर म भन्दिन तर हामी चीनसँग लडिरहेका छैनौँ”, जीवाश्म इन्धनको चरणबद्ध समाप्तिको समर्थन गर्ने वार्तासँग सम्बन्धित एक व्यक्तिले भने, “तर जहाँसम्म साउदी अरबको कुरा छ उसले बलपूर्वक जीवाश्म इन्धनबाट हट्न तयार नभएको बताएको छ ।”

तेल सम्पदामा निर्माण भएको साउदी अरबले कोप२८ लाई आफ्ना ‘चिन्ताहरू’ माथि विचार गर्न भनेको छ । ओपेक तेल गठबन्धनले भने आफ्ना सदस्यहरूलाई उनीहरूको आकर्षक निर्यातलाई समाप्त गर्ने आह्वानको विरोध गर्न आग्रह गरेको छ । 

सबैभन्दा धेरै भावनात्मक अपिलहरू तल्लो द्वीपहरूबाट आएको छ । उनीहरू ध्रुवीय बरफ पग्लिएर समुद्रमा डुब्ने खतरामा छन् र उनीहरूको टिमहरू राष्ट्रिय बजेटको ठूलो खर्चमा दुबई आएका छन् । समुद्री सतहबाट औसत दुई दशमलव एक मिटर (सात फिट) को उचाइमा रहेको मार्शल द्वीप समूहका वार्ताकार जोन सिल्कले सोमबार भन्नुभयो, “हाम्रो मुलुक हाम्रो मृत्यु वारेन्टमा हस्ताक्षर गर्नका लागि यहाँ आएको छैन ।”

युगान्डाका २७ वर्षीया प्रमुख जलवायु कार्यकर्ता भेनेसा नकाटेले शिखर सम्मेलनमा जीवाश्म इन्धनलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “यदि नेताहरू २८ वर्षको जलवायु सम्मेलनहरूपछि पनि जलवायु सङ्कटको मूल कारणलाई सम्बोधन गर्न असफल भए भने तिनीहरूले हामीलाई असफल मात्र बनाउँदैनन् बरु सम्पूर्ण कोप प्रक्रियामा हाम्रो विश्वास गुमाइरहेका छन् ।”

संयुक्त राष्ट्रसङ्घको नियमहरूका लागि कोप२८ मा करिब दुई सय मुलुकको सहमति आवश्यक हुन्छ भन्दै आयोजकहरूले आक्रोशको बहादुरीपूर्वक सामना गरेका छन् । “सबैजना खुशी हुनसक्ने गरी हामीले उनीहरूको विचारलाई मस्यौदा सम्झौतामा कसरी राख्छौँ भन्ने कुरामा काम गर्न आवश्यक छ”, कोप२८ का महानिर्देशक माजिद अल सुवाइदीले भन्नुभयो ।

जबरजस्ती निर्णय गर्न खोज्दै अध्यक्ष जाबेरले मङ्गलबार बिहान शिखर सम्मेलनको औपचारिक समापनभन्दा अघि एउटा सम्झौता गर्न आग्रह गर्नुभएको थियो तर सुवाइदीले समयसीमापछि प्राथमिकता ‘सबैभन्दा महत्त्वाकांक्षी परिणाम प्राप्त गर्नु’ थियो भन्नुभयो । 

अफ्रिकी ब्लकका तर्फबाट बोल्दै जाम्बियाले जीवाश्म इन्धनको चरणबद्ध कटौतीको समर्थन गरेको छ तर महादेशका तेल उत्पादकहरूलाई आर्थिक सहयोग प्राप्त हुनुपर्ने उसको भनाइ छ । 

वैज्ञानिकहरूका अनुसार पृथ्वी पूर्वऔद्योगिक कालयता एक दशमलव दुई डिग्री सेल्सियसले तातो भइसकेको छ र विश्वभरमा जङ्गलमा डढेलोसहितका घातक प्रकोपका कारण सन् २०२३ सम्भवतः एक लाख वर्षमा सबैभन्दा तातो वर्ष भएको छ । 

सन् २०१५ को पेरिस शिखर सम्मेलनले विश्वव्यापी तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा रोक्ने महत्त्वाकांक्षालाई समर्थन गरेको थियो तर तेल, ग्यास र कोइलामाथि नियन्त्रण लगाउनका लागि गम्भीर प्रयासबिना यो करिब असम्भव रहेको आलोचकहरूले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button