तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रभावमा नपरी सेवा प्रवाह गर्न सके अख्तियारले फुलमाला लगाउँछ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लाभ र प्रभावमा नपरी सेवा प्रवाह गर्न सके अख्तियारले कारबाही होइन फुलमाला लगाउने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा विराटनगरमा आयोजित भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानले दिएको अधिकार अनुसार काम गर्ने हो भने अख्तियारले दण्डित होइन पुरस्कृत गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकमा सुशासन कायम गर्न कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट ज्यादा पीडित स्थानीय तह भएकोले उजुरी उपर अनुसन्धान छिटो टुङ्गाउन सुझाव दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, बर्जू गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले भ्रष्टाचार नियन्त्रण लागि आआफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेशका प्रमुख सचिव डा दिपक काफ्लेले सरकारका सबै अङ्गहरू भ्रष्टाचार विरुद्धमा लाग्नुपर्ने बताउनुभयो ।

आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा बढी स्थानीय तहमा ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका सरकार सबै मन्त्रालयका सचिव, सङ्घीय सरकार कार्यालयका कर्मचारी, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button