तपाईँ सुन्दै हुनुहुन्छः

शक्ति ,भक्ति र न्यायका देवता थार्पमष्टा

मुगु । गमगढी दखी करिब डेढ घण्टा पैदल दुरीमा पुगिने उत्तर दिशामा अवस्थित थार्पमष्टा परापूर्व काल देखि शक्ति र भक्तिको देवताको रूपबाट परिचित हुँदै आएको छ ।

छायाँनाथरारा नगरपालिका वडा नं १३ मा अवस्थित थार्पमष्टा बाह्र भाइ मष्टा मध्ये महत्त्वपूर्ण मष्टा देवताको रूपमा मानिँदै आएको छ । मुगुको प्रख्यात चंखेली हिमालको पेरिफेरीमा गमगढीबाट करिब पन्ध्र मिनेट तल मुगु कर्णाली नदीको पुल पार गर्दै करिब आधा घण्टाको उकालो पछि पवित्र तिर्थ स्थल मालिकी हिमालको आडैमा यस मष्टाको थान (मन्दिर) रहेको छ । यसको व्यापक प्रचार प्रसार गर्न सकेको खण्डमा यहाँ धार्मिक पर्यटकहरू बढ्ने सम्भावना रहेको देखिन्छ ।

वर्षमा ६ पटक यस मष्टा थानमा देवताले भाग खानुका साथै साउन, कार्तिक ,माघ,वैशाख , मंसिर महिनामा धार्मिक मेला लाग्ने गर्दछ र त्यस समयमा मष्टा देवताको विशेष पूजा आजा गरिन्छ । पूजा लाग्ने महिनामा टाढा,टाढाबाट आएका भक्तजनहरूको भीडसमेत लाग्ने गर्दछ । श्रद्धालु भक्तजनहरू चिताएको अथवा मागेको र न्याय पूरा भएको विश्वास लागेको खण्डमा जस दिन,भेटी चढाउन, बर र न्याय माग्न र अरू धामीले, बिधो (अनुमति) लिन मनले चिताएको वर माग्न सुर्खेत, दैलेख, जाजरकोट कालिकोट,जुम्ला, हुम्ला, बाजुरा बझाङ, अछाम ,डोटी लगायतका जिल्लाहरूबाट यस थानमा आउने गर्दछन् । श्रद्धालु भक्तजनहरूको मनोकांङ्क्षा पूरा भए बापत खसी, बोका, सुन, तामा, चाँदी , पैसा ,घोडा ,गाई चढाउन यहाँ आउने गरेको थार्प स्थित गमदेवका धामी देवीसिंह सावतले बताउनु भयो । यहाँ वर्ष भरीमा डेढ सय भन्दा बढी खसी बोकाको बली चढ्ने गरेको धामी सावतको भनाई छ । विभिन्न ठाउँका मानिसहरू आफ्नो भूत भविष्य हेराउनका लागि दैनिक जसो थार्प गाउँमा आउने गरेको र यस्तो जमात कहिले खाली नहुने पनि धामी सावतले बताउनुभयो ।

नेपालमा बहुदल आउनु अगाडि राष्ट्रिय मान्यता पाएको यस थार्म मष्टाको लागि भेटी स्वरूप केही पैसा हरेक पटक आउने भएपनि बहुदल आईसके पछि देवताले पाउँदै आएको भेटी कटौती भएको छायाँनाथरारा नगरपालिका वडा नं १३ का पूर्व वडा अध्यक्ष चक्रबहादुर सावतले बताउनु भयो । कतै न्याय नपाएकालाई यस मष्टाले न्याय समेत दिने गरेको सावतको भनाई छ । आन्तरिक पर्यटन विकासको प्रबल सम्भावना रहेको थार्प मष्टाको प्रचार प्रसार गरि थार्प व्यवस्थित सडक मार्ग बनाउन सकेको खण्डमा दूर दराजका गाउँ ठाउँमा पनि पर्यटकको चहल पहल झनै बढ्नुका साथै आर्थिक विकासमा टेवा मिल्ने उहाँको भनाई छ । हेर्दा सामान्य रूपमा देखिने उक्त देवताको थान (मन्दिर) भएपनि बाह्र भाइ मष्टा मध्ये सबै भन्दा बढी शक्तिशाली मष्टाको रूपमा लिन सकिने थार्प गाउँका स्थानीयले बाताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button