तपाईँ सुन्दै हुनुहुन्छः

‘रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्छ’

गोरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताउनुभएको छ ।

गोरखाको सिरानचोक गाउँपालिकामा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कृषि उत्पादनलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सके मात्र गाउँमा रोजगारीको प्रशस्त अवसर सृजना हुने बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय ग्रामीण क्षेत्रबाट अधिकांश युवा विदेशिने गरेको भन्दै गाउँमै रोजगारीको अवसर नहुँदासम्म युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने बताउनुभयो ।

कृषि पेशामार्फत गाउँमै माछा, मासु, दुग्धजन्य पदार्थ उत्पादन लगायत अन्य थुप्रै कृषि पेशालाई व्यावसायिक बनाउन सके गाउँमै प्रशस्त रोजगारीको अवसर तयार हुने उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले सरकारले वास्तविक किसानमा अनुदान पुर्‍याउनका लागि प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको समेत बताउनुभयो ।

प्रदेश सरकारले वास्तविक किसानमा अनुदान पुर्‍याउन चालु आवमा रु ५० करोड उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । ‘‘जसले उत्पादन गर्छ उसले अनुदान पाउने अवस्था बनाउन सकियो भने उत्पादन गर्नेलाई पनि हौसला र प्रोत्साहन हुन्छ, उहाँले भन्नुभयो, ‘‘सरकारको अनुदान पनि वास्तविक किसानको हातमा पुग्छ ।’’

सरकारले आवश्यकताका आधारमा योजना तथा कार्यक्रम निर्माण गरेर मात्र काम गर्ने भन्दै उहाँले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्रका सबै जिल्ला र पालिकामा प्रदेश सरकारले समानुपातिक हिसाबले विकास निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button