तपाईँ सुन्दै हुनुहुन्छः

आइटीएफमा दोस्रो सर्किटका खेल सुरु

पोखरा । पोखरा रङ्गशालामा जारी आइटीएफ जे–३० को दोस्रो सर्किट अन्तर्गतका खेलहरू मङ्गलवार पनि जारी रहे । सिङ्गलतर्फ पहिलो चरणको जारी रहँदा डबल्सतर्फ क्वाटर फाइनल चरणमा पुगेको छ ।

बुधबार ब्वाइज सिङ्गलतर्फ भएका खेलहरूमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले पराजित गर्नुभयो । त्यसै गरी भारतका जासोड डेभिडले भारतकै प्रनिल शर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गर्नुभयो ।

त्यसै गरी ब्वाइज डबल्सतर्फ नेपालका आयुष्मान् हजुर घले र भारतका एस पञ्चासरीले भारतका हायाग्रिव अथ्रिया र इशान्त पटराको जोडीलाई ६–२, ६–३ ले, भारतका दक्ष कुक्रेटी र अर्नव यादवको जोडीले नेपालका आर्यन गिरी र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४,६–२ ले पराजित गर्नुभयो ।

गर्ल्स सिङ्गलतर्फ जापानकी उता असाकुराले भारतका दिविजा मण्डेनीलाई ७–५,६–० ले, भारतका इशि महेश्वरीले भारतकै सेरी समालाई ६–४,२–६ र ६–२ ले, नेपालका सुनिरा थापाले भारतका सगुन कुमारी सगुनलाई ७–५, ५–७ र ७–६ ले, भारतकी रिदी सिण्डेले भारतकै एन्जल पटेललाई ३–६, ७–६ र ६–३ ले, थाइल्याडकी पिच छायापक श्रीमुकले भारतका राधा सध्रालाई ७–६, ६–४ ले पराजित गर्नुभयो ।

गर्ल्स डबल्सतर्फ भारतका सिम्रन बण्डेला र अन्वि पुनागाण्टीको जोडीले नेपालका प्रशंसा मोक्तान र थाइल्यान्डकी पिच छायापक श्रीमुकलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको संघ कास्कीका अध्यक्ष लोक बहादुर गुरुङले बताउनुभयो ।

उक्त प्रतियोगिता मङ्सिर २३ गतेसम्म चल्ने भएको छ ।

आइटीएफ जे–३० टेनिस प्रतियोगिताको पहिलो सर्किटमा मेन्स सिङ्गलतर्फ एलेक्सि सिभायव प्रथम हुनुभएको थियो । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गर्दा पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले प्रथम हुनु भएको हो । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले प्रथम स्थान बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button