तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकका लागि माओवादी रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री

महोत्तरी । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताउनुभएको छ ।

महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीन महिने रूपान्तरण अभियानको मधेस प्रदेश स्तरीय समीक्षा बैठक र प्रशिक्षणमा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताउनुभयो ।

“मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो”, प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भन्नुभयो, “यसको स्थायित्व र सबलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।” स्वार्थभन्दा माथि उठेर काम गर्न उहाँले निर्देशन दिनुभयो ।

अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल गर्नुभयो । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उहाँले बताउनुभयो ।

मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रूपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्य लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button