तपाईँ सुन्दै हुनुहुन्छः

किराँत गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै ताप्लेजुङ सेमिफाइनलमा

पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम वाइवाइ अन्तर्राष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँलाई हराउँदै कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम मा.वि. को खेल मैदानमा मङ्गलवार सम्पन्न भएको खेलमा हिमालयन शेर्पा क्लब लाई ४– ३ गोल अन्तरले पराजित गर्दै कर्ण सिंह सोनाम स्मृति क्लब सेमिफाइनलमा पुगेको हो । ताप्लेजुङ लाई जिताउन प्रविन जबेगु ले २, मन्जित येङदेन र दिपेश लिम्बुले समान १/१ गोल गरे । यस्तै हिमालयन शेर्पाका लागि ओस्कार र वसन्त ओझाले समान १/१ गोल गरे । दोस्रो हाफको २९ औँ मिनेटमा ताप्लेजुङका आशिष लिम्बुले आत्मघाती गोल गरे ।

ताप्लेजुङका गोल किपर आकाश लिम्बु खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । ए डिभिजनको अनुभवी टिम हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ । ताप्लेजुङले सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ ।

पाँचथर फुटबल क्लबको आयोजनामा मङ्सिर २३ सम्म हुने प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उप विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।

साथै प्रत्येक खेलको म्यान अफ द म्याच लाई ५ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ द सिरिजलाई २५ हजार नगद पुरस्कार दिइने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकीले जानकारी दिनुभयो ।

मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगिताको सेमिफाइनल खेल मङ्सिर २० बाट हुनेछ । बुधबार हुने पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर फुटबल क्लब र डाँगीहाट फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button