तपाईँ सुन्दै हुनुहुन्छः

लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न मन्त्री किराँतीको आग्रह

इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि कसैले आँखा नलगाउन चेतावनी दिनुभएको छ ।

file photo

पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्‍याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्नुहुँदै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताउनुभयो । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७० औँ जन्मोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताउनुभयो ।

मन्त्री किरातीले हजारौँको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न आग्रह गर्नुभयो । पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनुभयो ।

आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले माङसेबुङ क्षेत्रलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले माङसेबुङ क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button