तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र सौराहाका सरोकारवालाबीच अन्तरक्रिया 

चितवन । रत्ननगर नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहाका पर्यटन व्यवसायीबीच रेडियो नेपालसँग अन्तर्क्रिया सम्पन्न भएको छ । रेडियो नेपालको चालु आर्थिक वर्षको ’फ्ल्यागसिप’ कार्यक्रमको रुपमा दोस्रो शृङ्खला अन्तर्गत स्थलगत बहसमा आधारित रेडियो कार्यक्रम सम्पन्न भएको हो । 

रेडियो नेपालको आयोजना र रत्ननगर नगरपालिकाको समन्वयमा गरिएको कार्यक्रममा नगरपालिका प्रमुख प्रल्हाद सापकोटा, निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुनपुर्जा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्रकी प्रमुख रचना शाह क्षत्रिय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, युनाईटेड हात्ती सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडा , होटल व्यवसायी महासङ्घका निवर्तमान उपाध्यक्ष गोमा न्यौपाने लगायतको सहभागिता थियो । 

सो अवसरमा बोल्दै रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले स्थानीय सरकार र पर्यटनकर्मी तथा संरक्षणकर्मी बीच समन्वय र सहकारी हुनुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय सरकार र नीजि क्षेत्रबीच सहकार्य अपरिहार्य र अपरिहार्य छ, उहाँले भन्नुभयो, आवश्यकता अनुसार पालिकाले पर्यटन विकासमा जुनसुकै सहयोग गर्न तयार छ ।’ स्थानीय सरकार एक्लैले सबै काम पूर्ण गर्न नसक्ने भन्दै सरोकारवाला अन्य निकायको सबैको साथ सहकार्य जरुरी रहेको उहाँले बताउनु भयो । 

सौराहाको पर्यटन पूर्वाधार र विकासमा यथेष्ट बजेट छुट्याएको बताउँदै उहाँले सौराहालाई २४ सै घण्टा खोल्नु पर्नेमा जोड दिनुभयो । 

निकुञ्ज प्रमुख पुनले सौराहा जङ्गल सफारीमा आधारित पर्यटन भएकोले निजी क्षेत्र , स्थानीय तहबीच सहकार्य गर्दै अगाडि बढेको बताउनु भयो । ‘हामीले संरक्षण र प्रवर्द्धनलाई संगसंँगै लगेका छौँ, उहाँले भन्नुभयो, वन र वन्यजन्तुको  संरक्षणको लागि सबैको साथ र सहयोग जरुरी छ ।’ पछिल्लो समय वन्यजन्तु संरक्षणमा चुनौती थपिएको बताउँदै उहाँले पर्यटन व्यवसायी र पर्यटकको इच्छा बमोजिम काम गर्न ऐन बाधक बनेको समेत बताउनु भयो । 

संरक्षण कोषकी प्रमुख रचना शाहले पर्यटक आगमन वृद्धि गर्न र आकर्षण गर्न वन्यजन्तुको संरक्षण महत्त्वपूर्ण रहेको बताउनु भयो । सौराहा र निकुञ्जमा घुम्नको लागि मात्रै पर्यटक नआउने भन्दै अध्ययन अनुसन्धानको लागि आउने भएकोले यहाँ पर्यापर्यटन र जैविक विविधताको संरक्षण हुनु जरुरी रहेको उहाँको भनाई थियो । 

क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरीले सिजन शुरु भएसँगै पर्यटक आगमनमा वृद्धि भएपनि प्रशस्त पूर्वाधार नहुँदा गुणस्तरीय सेवा दिन नसकेको बताउनु भयो । निकुञ्ज ऐनका कारण जङ्गल सफारीमा समस्या रहेको भन्दै पहिलेकै ऐन र कमजोर पूर्वाधारका कारण बाह्य पर्यटक भित्र्याउन नसकिएको उहाँको भनाई थियो । ‘अहिले सौराहा ८० प्रतिशत आन्तरिक पर्यटकको भरमा छ, उहाँले भन्नुभयो, बाह्य पर्यटक आकर्षण गर्न निकुञ्ज र स्थानीय तहको साथ र सहयोग उत्तिकै छ ।’ 

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महत्तो, युनाईटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपेन्द्र खतिवडा , होटल महासङ्घका निर्वतमान उपाध्यक्ष गोमा न्यौपाने , मृगकुञ्ज उपभोक्ता समितिका सदस्य बुद्धिमान विश्वकर्माले सौराहाको पर्यटन विकास तथा संरक्षण बारे आफ्ना धारणा राख्नु भएको  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button