तपाईँ सुन्दै हुनुहुन्छः

अस्थायी आवास छिटो निर्माण गरिसक्न मन्त्री शर्माको निर्देशन

रुकुम पश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितका अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुग्नुभएकी शर्माले भूकम्पपीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको हो ।

जिल्लास्थित विपद् व्यवस्थापनको समूहले सोहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रिपरिषद्ले यसअघि नै प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्र पर्खिरहन आवश्यक नरहेको मन्त्री शर्माले बताउनुभयो ।

अस्थायी आवास निर्माण ढिलाइ भएको उल्लेख गर्नुहुँदै उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थायी आवास निर्माण ढिला नगर्न उहाँले निर्देशन दिनुभयो । विपद्को बेला देखिएको सक्रियताप्रति आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यसैगरी मन्त्री शर्माले जाजरकोटको नलगाड नगरपालिकामा आज जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्दै पुसदेखि चिसो बढ्ने भएकाले छिटै अस्थायी टहरा निर्माणको काम पूरा गर्नुपर्ने बताउनुभयो ।

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । अस्थायी टहरा निर्माणका लागि प्रतिपरिवार रु ५० हजार रकम निकासा गर्ने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले गत मन्त्रिपरिषद् बैठकबाट जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएकाले अब टहरा निर्माणले गति लिने मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

भूकम्पले पीडा दिए पनि यो जनताको सेवा गर्ने तीनै तहका सरकारका लागि अवसर भएको उल्लेख गर्दै मन्त्री शर्माले यो अवसरको भरपुर उपयोग गरेर विपद्लाई अवसरमा बदल्न आग्रह गर्नुभयो । उहाँले भूकम्पको विपद सामना गर्न स्थानीय तहले लिएको सफल नेतृत्वले नेपालमा सङ्घीयताको औचित्य थप पुष्टि भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button