तपाईँ सुन्दै हुनुहुन्छः

‘मानव सेवा आश्रम असहाय र बेसहाराहरूको सहारा बन्यो’

वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सडकमा अलपत्र रहेका व्यक्तिहरूलाई आश्रय दिएर मानव सेवा आश्रमले असहाय र बेसहाराहरूलाई सहारा दिएको बताउनुभएको छ ।

मानव सेवा आश्रम वीरगन्जलाई आज एक कार्यक्रमबिच बोलेरो गाडी हस्तान्तरण गर्दै आफूले गरेको प्रतिबद्धता अनुसार आश्रमलाई गाडी प्रदान गर्न सकेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले समाजमा मानवता हराउँदै गएको बेला मानव सेवा आश्रमले सडकमा बेसहारा भई अलपत्र रहेका असहाय, अनाथ, मानसिक सन्तुलन गुमाएकाहरूलाई सहारा दिएको भन्दै आश्रमको कारण सयौँ व्यक्तिहरूले सहारा पाएको बताउनुभयो ।

मानव सेवा आश्रमका राष्ट्रिय अध्यक्ष रामजी अधिकारीले उपलब्ध सवारी साधनबाट आश्रममा रहेका व्यक्तिहरूलाई पारिवारिक पुनर्मिलन गराउन तथा सडकबाट उद्धार गर्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री रिजालले आफू र आफ्ना निकटहरूको सहयोगमा २८ लाख ५० हजार मूल्य बराबरको बोलेरो गाडी उपलब्ध गराउनुभएको मानव सेवा आश्रम मधेश प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उद्योग वाणिज्य महासङ्घका मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल शाह, ज्येष्ठ नागरिक पशुपति विक्रम शाह, मधु राणा, नूतन सरावगी, रम्भा मिश्र लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button