तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र

रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चार माध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष यहाँका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी सो ज्ञापनपत्र बुझाएको हो । कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप विपद्मा परेकाले यसको सामना गर्नका लागि सरकारका तर्फबाट सहयोग आवश्यक रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

शाखाका लक्ष्मण अध्यक्ष केसीका अनुसार मन्त्री शर्मासँग भूकम्पबाट क्षति पुगेका सञ्चार माध्यमको भवन निर्माण र उपकरण खरिदमा सहयोग गर्न र भूकम्प प्रभावित पत्रकारहरूलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।

त्यसैगरी, भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यमहरूको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासङ्घले माग गरेको छ ।

महासङ्घ रुकुम पश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा सञ्चार माध्यमको सबलीकरणका लागि विशेष प्याकेजको माग गरेको छभने प्रभावित क्षेत्रका सञ्चार माध्यमलाई इन्टरनेट र विद्युत् सेवा निःशुल्क गरिदिने व्यवस्थाका लागि पनि माग गरेको छ ।

प्रभावित पत्रकारहरूका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरू स्थानीय स्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि सो ज्ञापनपत्र मार्फत गरिएको छ ।

जिल्ला शाखा अध्यक्ष केसीले पत्रकारहरूको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाहरूको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिदिन माग गरेको जानकारी दिनुभयो ।

यस जिल्लामा आठ वटा रेडियो, दुईवटा साप्ताहिक र एक मासिक पत्रिका तथा चारवटा अनलाइन मिडिया सञ्चालनमा रहेका छन् ।

यहाँ भूकम्पका कारण ३० जना पत्रकार प्रभावित भएका र एक रेडियो पूर्ण रुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराउनुभएको छ ।

मन्त्री शर्माले ज्ञापनपत्र बुझ्दै सबै माग सकारात्मक रहेकाले यी माग पूरा गर्न आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button