तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधि मण्डलसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहन स्वरूप दिने गरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गर्नुभयो ।

नाट्टा लुम्बिनीका तर्फबाट नौ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आज नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button