तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

काठमाडौँ । संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बहानामा अत्यावश्यक वस्तुमा समेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिँदै कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर अवस्था रहेको बताउनुभयो ।

उहाँले नेपालको संविधानले स्वच्छ वातावरण उपभोक्ता संरक्षणजस्ता विषयमा स्पष्ट उल्लेख गरेको जनाउँदै कार्यान्वयनका दृष्टिले नेपालमा धेरै कमजोर अवस्था रहेको उल्लेख गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संविधान र कानुनले प्रदत्त गरेका उपभोक्ता अधिकारलाई कार्यान्वयन गर्न नसक्नु पनि भ्रष्टाचार रहेको भन्दै आफूहरूले उपभोक्ता अधिकारलाई गम्भीरताका साथ लिएर अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले सबै पक्षले आ–आफ्नो स्थानमा गम्भीर भएर काम गर्नुपर्ने भन्दै एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्तामाथि खेलबाड गर्न नमिल्ने उल्लेख गर्नुभयो ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्लो समय स्थानीय तहसँग मिलेर जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय तह, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाको सहयोगमा बजार अनुगमन नियमित भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा घरेलु तथा किराना पसल सङ्घ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रतिनिधिले बजारलाई व्यवस्थित बनाउन व्यवसायी, उपभोक्ता र सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button