तपाईँ सुन्दै हुनुहुन्छः

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।

खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहान लगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ ।

मन्त्री यादव पानी काठमाडौँ चाँडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बस्नुभएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झार्नुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यवसायीसँग छलफलमा जुट्नुभएको उहाँको सचिवालयका टङ्क धमलाले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले पानी काठमाडौँ पठाउनका लागि केही ढिलाइ भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाँडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्‍याउने हाम्रो लक्ष्य हो ।”

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहान लगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्र गतिमा काम सुरु भएको बताउनुभयो ।

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेट, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । क्षति पुर्‍याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button