तपाईँ सुन्दै हुनुहुन्छः

नौ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

दोलखा । चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक–रोङ्जिया नाका हुँदै भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

तस्करी आरोपमा पक्राउ परेको १५ जना (एक बालक सहित) मध्य नौ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने, तीन जनालाई धरौटीमा रिहा गर्ने र तीन जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले गरेको हो ।

शुक्रवार दिइएको आदेश अनुसार ११ केजी सुन तस्करीका मुख्य नाइके चिनिया नागरिक आकर लामा र ग्याङ रु, नुर्बु छिरिङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी) तथा लालबहादुर तामाङ (सिन्धुपाल्चोक) लाई पुर्पक्षको लागि थुनामा राख्न भनिएको छ ।

अदालतको आदेश अनुसार महिमा माझी (रामेछाप) लाई एक करोड ७९ लाख ४० हजार, दीपेन्द्रराज शाक्य (ललितपुर) लाई ९६ लाख ५० हजार र तिलक बिक (बागलुङ) लाई ८८ लाख धरौटीमा छोड्न भनिएको छ । नाबालक (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), र सुनमाला तामाङ (दोलखा) लाई भने साधारण तारेखमा छोड्न आदेश दिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अञ्जन भट्टराईले बताउनुभयो ।

यस अघि जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काठमाडौँले संयुक्त रुपमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । प्रहरीको अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको जनाइएको थियो ।

पक्राउ परेकाहरू बाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभएको थियो ।

उनीहरूले २०७९ साल मङ्सिरदेखि २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको थियो ।

गत असोज १० गते समेत विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरूबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button