तपाईँ सुन्दै हुनुहुन्छः

आउँदो महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न जरुरी : कोइराला


नवलपरासी,पश्चिम् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आउँदो महाधिवेशनले नेतृत्व परिवर्तन गर्नु पर्ने जिकिर गर्नु भएको छ । नेतृत्व परिवर्तन नहुँदा काङ्ग्रेसप्रतिको आकर्षण घट्दै गएको कोइरालाले बताउनुभयो । उहाँले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने पनि बताउनुभयो । उहाँले पहिले महाधिवेशन सम्पन्न गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गर्दै कार्यकर्ताको भावना अनुरुप नेतृत्व परिवर्तन अबको आवश्यकता भएको औँल्याउनु भयो । नेतृत्व परिवर्तन नगर्दा काङ्ग्रेसप्रति आकर्षण नबढ्ने कोइरालाको दाबी थियो ।

कांग्रेस पश्चिम नवलपरासीको प्रथम जिल्ला भेलालाई शुक्रबार परासीमा सम्बोधन गनुृहुँदै कोइरालाले यही नेतृत्व पार्टी र जन चाहनाअनुसार काम गर्न नसक्ने जिकिर गर्नु भयो । कांग्रेसको भविष्य सुरक्षित गर्न दुई वर्षभित्र कुनै पनि बहाना नगरी पार्टीको सबै तहको अधिवेशन गर्न कार्यकर्ता जागरूक भई नेतृत्वलाई दबाब दिनु पर्ने बताउनु भयो।

सम्मेलनमा बोल्दै कोइरालाले नेतृत्व परिवर्तन गरेर आगामी स्थानीय तहको चुनावमा काँग्रेसले गठबन्धन नगरी चुनाव लड्ने दाबी गर्नुभयो । ‘कार्यकर्तामा पार्टीको नेतृत्व प्रति वितृष्णा छ । यो नेतृत्व परिवर्तन नगर्दासम्म जनतामा काँग्रेसप्रतिको आकर्षण बढ्न सक्दैन’,उहाँले भन्नुभयो।

जनताहरूमा सङ्घीयताको विषयमा वितृष्णा पैदा हुनुमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न नबनाइनुले सङ्घीयताको मर्म स्पष्ट हुन नसकेको कोईरालाको भनाई थियो। ‘स्थानीय तह र प्रदेशलाई पूर्ण अधिकार दिइएन,तसर्थ जनताले सङ्घीयता अङ्गाल्न कठिन भयो’,कोईराले बताउनु भयो ।

जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले अहिलेको नेतृत्व जनतामा निराशा मात्र थपेको भन्दै सबै दलका शीर्ष नेताले नेतृत्व परिवर्तन गनुपर्नेमा जोड दिनुभयो । सबै दलका मुख्य नेताहरू जनचाहना भन्दा पनि कुर्सीका लागि लडेको भन्दै जनचाहनाअनुसार काम गर्न सबै दलमा नेतृत्व परिवर्तन आवश्यक भएको नेता भण्डारीले बताउनुभयो ।भेलामा काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन,महामन्त्री बिक्रम खनाल लगायतले आ आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो ।जिल्ला भेलालाई संस्थापन पक्षले बहिष्कार गरेपनी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। नवलपरासीको जिल्ला भेलामा सहभागी नभएका केही काङ्ग्रेसका नेता कार्यकर्ता तथा भातृ संस्थाका नेतृत्वले बुटवलको भेलामा सहभागिता जनाएका थिए। गुटिय प्रतिस्पर्धाले यतिबेला जिल्लाको राजनीति तरङ्गित बनेको छ । गुटकै कारण जिल्लाका दुई समूहको शीत युद्ध थप बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button