तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली गीतसङ्गीत र रेडियो नेपाल

काठमाडौँ । नेपाली गीतसङ्गीतको विकासमा मुलुकको अग्रणी प्रसारण संस्था रेडियो नेपालको महत्वपूर्ण योगदान रहिआएको छ । २०१२ सालदेखि गीत रेकर्ड गर्दै आएको रेडियो नेपालले नेपाली साङ्गीतिक आकाशमा थुप्रै ख्याति प्राप्त कलाकारहरू मात्रै जन्माएन, यसले शास्त्रीय सङ्गीतको मूल थलोको रुपमा समेत पहिचान बनाएको इतिहास छ । रेडियो नेपालले लोक गीत सङ्गीतसँगै आधुनिक र विविध भाषाभाषीमा समेत गीतहरू  रेकर्ड गरेर साङ्गीतिक उचाइ थप्दै आएको छ । 

सात दशकको गीतसङ्गीत यात्रामा रेडियो नेपालले धेरै उतारचढाव  पनि व्यहोरेको छ । विगतमा स्टुडियोमा प्रत्यक्ष गीत गाएर प्रसारण गरी श्रोतालाई मनोरञ्जन दिँदै आधुनिक सङ्गीत बजारको प्रतिस्पर्धामा उत्रिएको रेडियो नेपाल आज पनि उत्तिकै गुणस्तरीय रहेकाले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सुझाव दिनुहुन्छ रेडियो नेपालले जन्माएको वरिष्ठ गायिका मीरा राणा । उहाँ सङ्गीतको पवित्र मन्दिर रेडियो नेपाललाई पुजिरहनुपर्ने बताउनुहुन्छ । 

लोकगीत होस् वा आधुनिक, शास्त्रीय होस् वा विविध भाषाभाषिका गीतसङ्गीत र स्रष्टाका सिर्जना नै किन नहुन् तिनको  संरक्षण गर्दै आधुनिक गीतसङ्गीतको प्रवद्र्धनमा  रेडियो नेपाल लागि परेको छ । विश्वबजारमा नेपाली भाषीहरूमाझ नेपाली बाजागाजा र गीतसङ्गीत चर्चित छ तर पनि नेपालको सङ्गीतलाई अन्तर्राष्ट्रिय सङ्गीतसँग प्रतिस्पर्धी बनाउन सकिएको छैन । वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी रेडियो नेपालले  नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा लैजान नेतृत्व लिनुपर्नेमा जोड दिनुहुन्छ । 

हरेक वर्ष सङ्गीत प्रशिक्षण, आधुनिक, गीत गायन प्रतियोगिता, लोक,  र विविध भाषाका गीत रेकर्डिङ, गीतसङ्गीत र साहित्यका विविध कार्यक्रम र प्रसारणमार्फत स्रष्टा र गीतसङ्गीतका पारखीहरूलाई  समेट्दै आएको  रेडियो नेपाल आज पनि श्रोताहरूमाझ उत्तिकै लोकप्रिय छ । 

देशको रेडियो भएकोले पनि रेडियो नेपालले नयाँ पुस्तामा बढेको गीतसङ्गीतको रुचिलाई पनि सम्बोधन गर्ने कोसिस गरिरहेको छ । शास्त्रीय सङ्गीत सिक्ने जिजीविषा बोकेका पुस्तालाई सम्बोधन गर्न नियमित रुपमा  शास्त्रीय सङ्गीत  प्रस्तुती गर्न सुझाउनुहुन्छ वरिष्ठ स्रष्टा धिरेन्द्र प्रेमर्शी । उहाँ देशको रेडियोले प्रस्तुत गर्ने गीतसङ्गीतमा पनि देशको तस्वीर झल्कनुपर्ने विचार व्यक्त गर्नुहुन्छ । 

नेपालको साङ्गीतिक क्षेत्रमा सधैँ चम्किरहने नक्षत्रहरू नारायण गोपालदेखि, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, तारादेवी, कोइलीदेवी, अम्बर गुरुङजस्ता अमर र अजर स्रष्टालाई स्थान दिँदै आएको रेडियो नेपालले पुराना गीतसङ्गीतको संरक्षण र आधुनिक प्रविधिमा लैजाने प्रयास गरिरहेको छ । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी रेडियो नेपालमा रेकर्ड भएका पुराना गीतहरूको खोजी गरि डिजिटल प्रविधिमा राख्ने काम भएको बताउनुहुन्छ । 

गीतसङ्गीत मानव जीवनमा कला भर्ने साधन हुन् । सङ्गीतको मधुर आवाजले निरस जीवनमा पनि रस भरिदिन्छ । सङ्गीतको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको रेडियो नेपालमा गीत गाएर कैयन अग्रजहरू अन्तर्राष्ट्रिय रुपमा परिचित भए भने कतिले रेडियो नेपालबाटै गीतसङ्गीत सुनेर जीवनमा बाटो बदले । नेपाली सङ्गीतको पवित्र मन्दिरको रुपमा सबैले पुज्दै आएको रेडियो नेपाल आज पनि स्रष्टाहरूको साझा थलोको रुपमा परिचित छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button