तपाईँ सुन्दै हुनुहुन्छः

भाँसिएकाे पुलबाट  दैनिक यात्रा : दुर्घटनाको जोखिम

मुगु (गमगढी )-जिल्ला  छायाँनाथ रारा नगरपालिका वडा नं १ हुलुम खोलाको  झाेलुङ्गेपुल  गत असोज महिनामा परेको अविरल वर्षाको कारणले पुल मुनिको पर्खाल पहिरोले भत्किए पछि उक्त पुल जोखिममा परेको  हाे ।

पुल जोखिममा परेपनि  श्रीनगर बासीहरू  हाल  मुगुको सदरमुकाम गमगढी बजार लगायत बनपाखा  जाँदा जोखिम मोलेर त्यही पुल बाट आवत जावत गर्ने गरेको वडा अध्यक्ष पदमराज मल्लले बताउनु भयाे । भाँसिएकाे पुल बाट वडा बासी लगायत कसैले पनि यात्रा नगर्न छायाँनाथ रारा नगरपालिकाको आदेश अनुसार वडा ले निर्णय गरी  बार लगाई पुल बन्द  गरिसकेको भएपनि पुलमा लगाइएको बार  हटाई निर्णयकाे कुनै वास्ता नगरी  जोखिम मोलेर स्थानीयले यात्रा गर्ने गरेको पनि अध्यक्ष मल्लले बताउनु भयाे । जोखिममा परेको पुल बाट यात्रा गर्दा  दुर्घटना  समेत हुन सक्ने अध्यक्ष मल्लकाे भनाई छ ।

यस पुलको    समयमा नै  कुनै पनि निकाय बाट मर्मत संहार नभए पछि दिन प्रतिदिन पुल झर्दै गएको  छायाँनाथरारा नगरपालिका वडा नं १ मा कार्यरत सब इन्जिनियर विष्णुभक्त हितानले बताउनु भयाे ।  आर्थिक बर्ष २०७४/०७५ मा निर्माण गरिएको  ९२  मिटर लामो र   करिब ८० मिटर उचाइको उक्त हुलुम खोला  पुल डाेलिडार काे रू ६९ लाख काे आर्थिक र जिल्ला बिकास समितिको प्राविधिक सहयोगमा  निर्माण भएको थियो । 

श्रीनगर , भामवाडा  लगायत घट्टललेख, तलिलेख, लुवारपाेल्ना, गाँडापानी, चराप, झाकाेट, लगायतका बस्तीका मानिसहरू त्यही पुल भएर सदरमुकाम  ओहाेर ,दाेहाेर गर्न सहज हुँदै आएको थियो । पुल भाँसिएकाे खबरले टाढाका बस्तीका मानिसहरू वैकल्पिक बाटो  चैन खोला , र अल्का साँघु बाट गमगढी आवत जावत गर्ने गरेका छन् भने केही स्थानीयहरू छोटो दुरी हुनाले  जोखिम मोलेर  त्यही भाँसिएकाे पुल बाट यात्रा गर्दै आएका छन् ।

भाँसिएकाे पुल बाट यात्रा गर्दा कतिखेर के हुने हाे ?  त्यसको कुनै टुङ्गो नै छैन स्थानीयहरू बताउँछन् ।   पर्खाल भत्किएर जोखिममा परेको पुलको  केही दिन मै मर्मत संहारको काम सुरु हुने छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनु भयाे । बजेट अभावले पुल  मर्मतको काममा केही ढिलाइ  भएको भएपनि   मर्मत कार्यकाे लागि नगरपालिकामा निर्णयसमेत भैइसकेकाे पनि नगरप्रमुख भामले बताउनु भयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button