तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयतालाई कसैले समाप्त गर्न सक्दैन’

जनकपुरधाम । मधेश प्रदेशको प्रदेश सभाको आज बसेको बैठकमा बोल्नै प्रदेश सभाका सदस्यहरुले सङ्घीयता लामो बलिदान तथा सङ्घर्षपछि आएकाले यसलाई कसैले हरण गर्न नसक्ने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता सरोज कुमार यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सङ्कल्प प्रस्ताव पारित गर्न माग गर्नुभयो ।

नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य जिवछी कुमारी यादवले जनताको लामो सङ्घर्ष र त्यागपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रले समावेशिता तथा सहभागिता बढेको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका नेतृ किरण साहले सङ्घीयता तथा संविधान विरोधीलाई नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो ।

जनमत पार्टीका नेता सतिष कुमार सिंहले सङ्घीयताप्रति आएको प्रश्नप्रति संघीय पक्षधरहरू गम्भीर हुन आवश्यक भएको बताउनुभयो

नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले विगतमा भएको दरबार हत्या काण्डको छानविन गरेर जनताको नजरमा पूर्व राजा ज्ञानेन्द्र शाह मुख्य व्यक्ति भएकाले प्रमाणित भएकाले कर्तव्य ज्यान मुद्दामा जेल चलान गर्न माग गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता उपेन्द्र महतोले अतृप्त आत्मा र राजतन्त्रको अवशेषले गरेको आन्दोलनले अहिले जनताको चाहना अनुसारको व्यवस्थामा केही गर्न नसक्ने बताउनुभयो । उहाँले सङ्घीयताका कारणले नै गाउँ गाउँमा विकासको लहर चलेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button