तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध परेका निवेदन हेर्दाहेर्दैमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध परेका निवेदन उच्च अदालत पाटनले हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले जिल्ला अदालतको आदेशविरुद्ध २० जनाले दिएको निवेदनमा सुनुवाई गर्दै हेर्दाहेर्दैमा राखेको हो । 

केही प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपनि केही कानुन व्यवसायीको बहस नसकिएकाले मुद्दाको सुनुवाई हेर्दाहेर्दै रहेको उच्च अदालत पाटनका प्रवक्ता एवम् उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेका २० मध्ये १७ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका ३० प्रतिवादीमध्ये १० जना फरार छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणका ३० जनाविरुद्ध ०८० जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन् ।

अदालतले टङ्क गुरुङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button