तपाईँ सुन्दै हुनुहुन्छः

फेवातालमा १२ हजार माछाका भुरा छाडियो

पोखरा । पोखराको फेवातालमा १२ हजार वटा माछाका भुरा छाडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाले मङ्गलवार फेवातालमा स्थानीय जात नैनी, सहर लगायतका जातका ६० ग्राम तौल माथिका १२ हजार माछाका भुरा छाडेको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले बताउनुभयो । 

फेवातालको प्राकृतिक सन्तुलन कामय गर्न र मुख्यगरी जलारी समुदायको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले तालमा भुरा छाडिएको उहाँले जनाउनु भयो । वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै आएको प्रमुख अधिकारीले बताउनु भयो । 

अधिकारीले गण्डकी प्रदेशमा वार्षिक दुई हजार मेट्रिकटन माछा उत्पादन हुने गरेको समेत उल्लेख गर्नु भयो । नेपालमा विभिन्न दुई सय ५२ जातका माछाका प्रजाति पाइने गरेकामा दुई सय ३६ जात यहीकै रैथाने रहेको उहाँको भनाई छ । नेपालमा मात्र पाइने १६ जात रहेको अधिकारीले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईँले गण्डकी प्रदेशमा मत्स्य पालनको राम्रो सम्भावना रहेको बताउनु भयो । प्राकृतिक जलाशय तथा नदीनालाहरूमा माछापालन गरी राम्रो आयआर्जन गर्न सकिने उहाँले बताउनुभयो । सचिव हुमागाईँले भन्नुभयो,“ हाम्रो प्रदेशमा प्रशस्त प्राकृतिक जलाशय तथा नदीनालाहरू भएकोले यस क्षेत्रमा माछापानलको राम्रो सम्भावना छ । ” गण्डकी प्रदेश बाहिर पनि माछा निर्यात गर्न सकिने र प्रशस्त आयआर्जनको सम्भावना रहेपनि राम्रोसँग काम गर्न नसकेको उहाँको भनाई थियो । 

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डा. बालकुमार श्रेष्ठले फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्नसके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सबल हुने बताउनु भयो । मत्स्य पालन र यसको बजारीकरणमा निर्देशनालयले सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो । 

पशु सेवा तालिम केन्द्र कास्कीका प्रमुख डा. ग्रिष्म न्यौपानले स्थानीय माछा संरक्षण सम्बन्धी कार्यहरूलाई प्राथमिकता नदिएको खण्डमा प्राकृतिक जलाशयहरूमा पाइने स्थानीय माछा लगायत जलीय जीवहरू लोप हुन सक्ने दाबी गर्नु भयो । 

हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष सोमबहादुर पोडेले विगतमा रैथाने माछा पाइने गरेपनि अहिले फेवातालमा स्थानीय माछा हराइरहेको दाबी गर्नु भयो । तालमा माछा उत्पादन घट्दै जाँदा जलारी समुदायलाई परिवार पाल्न समेत मुस्किल पर्दै गएको उहाँको भनाई थियो । 

कार्यक्रममा पोखरा महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठ लगायतले जलीय जीव संरक्षणका लागि तालमा माछाको भुरा छाड्ने, जनचेतना जगाउने, अव्यवस्थित माछा मार्न रोक्ने तथा नियमन गर्ने र आश्रित समुदायलाई जलीय जीव संरक्षण गर्न प्रमुख जिम्मेवार बनाउनुपर्नेमा जोड दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button