तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु तथा साना उद्योगलाई सरकारले प्रबद्र्धन गर्छ : उद्योगमन्त्री रिजाल 

भैरहवा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले घरेलु तथा साना उद्योगलाई सरकारले प्रबद्र्धन गर्ने बताउनुभएको छ । 

भैरहवामा मङ्सिर ६ गते देखि १८ गते सम्मका लागि सुरुवात भएको छैटौँ लुम्बिनी प्रादेशीक महोत्सव २०८० लाई सम्बोधन गर्नु हुँदै मन्त्री रिजालले औद्योगिक विकासमा टेवा पुर्‍याउने हेतुले मझौला, घरेलु तथा साना उद्योग प्रबद्र्धन गर्ने नीतिको मस्यौदा तयार गरिसकेको र सरोकारवालासँग छलफल गरी नीतिलाई अन्तिम रूप दिने तयारी भएको बताउनुभएको छ । कृषि क्षेत्रको प्रवद्र्धनका लागि सेज सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । 

नयाँ औद्योगिक मस्यौदा तयार पार्ने काम सुरुवात भइसकेको उहाँले बताउनुभएको छ । आफ्नै मुलुकमा उत्पादन हुने बस्तुहरूको आयात भएको बताउँदै कृषिमा आत्म निर्भर बनाउन आवश्यक नीति बनाई कार्यान्वयन गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । खुला सीमाका कारण हुने अवैध तस्करी रोकथामका लागि मन्त्रालयको तर्फबाट आवश्यक पहले लिने बताउनुभएको छ । 

सङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्री अनिता देवी शाहले भगवान् गौतम बुद्धको जन्म स्थलमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलेपछि यस क्षेत्र चलायमान हुने बताउनुभएको छ । नेपाल च्याम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनीबाट भारतको दिल्ली र चीनमा अन्तर्राष्ट्रिय उडान भएपछि करोडौँ पर्यटक भित्रिने र नेपालमा लाखौँले रोजगार पाउने बताउनुभएको छ । 

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले पर्यटनको माध्यमबाट देशले आर्थिक समृद्धि ल्याउने बताउनुभएको छ । सबै क्षेत्रले पर्यटकलाई सम्मान व्यवहार गर्दै जानुपर्ने सबैको कर्तव्य भएको बताउनुभयो । भारतको नौतनवाका विधायक ऋषि त्रिपाठीले नेपाल भारत छिमेकी देश भएको र सांस्कृतिक र भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खाँन, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, ब्यापार सङ्गठनका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारी, उद्योगी बसन्त रोक्काले राष्ट्रिय उत्पादनलाई प्रबद्र्धन गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button