तपाईँ सुन्दै हुनुहुन्छः

अनुसन्धानमा खटिएको प्रहरी र डिएसपीलाई नगरपालिकाले गर्‍यो  सम्मान 

मुगु । छायाँनाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा भएको चार जनाको सामूहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै छायांनाथ रारा  नगरपालिकाले  जिल्ला प्रहरी कार्यालय मुगु,अनुसन्धानमा खटिएको प्रहरी टोली र प्रहरी नायव उपरीक्षक विरेन्द्र थापालाई मङ्गलवार सम्मान  गरेको छ । 

छिटो, छरितो, शान्ती र स्थानीय जनतामैत्री भएर सामूहिक हत्याको अनुसन्धानमा खटिई हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको  भन्दै  छायानाथ रारा नगरपालिकाले नेपाल प्रहरीलाई सम्मान गरेको हो ।

गत महिना कार्तिक १० गते छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँका स्थानीयहरूले दुई दिन देखि एक घरमा ताला लागेको ,घर परिवार कोही बाहिर नदेखिएको खबर गरे  लगतै प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाको नेतृत्वमा मन्दु गाउँमा पुगेको प्रहरी टोलिले बन्द ढोका खोल्दा एक आमा सहित ३ छोरा छोरीको बीभत्स हत्या गरेर घर बाहिर ताला लगाएको फेला पारेको थियो । 

घटनास्थलमा रहेको ४ प्रहरी अनुसन्धान  टोलिले म्यानुल्ली र केन्द्रिय अनुसन्धान ब्युरोले प्रविधि अनुसन्धान गरि हत्यामा संलग्न रहेको भन्दै हत्या भएको १५ दिनमा २ जना हत्या आरोपी मृतकका मामाका छोरा र सानिमाका श्रीमानलाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीको कार्यले जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रणमा  ठूलो सहयोग पुगेको र अपराधीले जति प्रमाण नष्ट गरेर अपराध गरेपनी अपराधीलाई प्रहरीले ढिलो चाँडो पत्ता लगाइ कानुनी कठघरमा उभ्याइ छोड्ने सन्देश दिएकोले प्रहरीको कार्यलाई उच्च सम्मान गर्दै प्रहरीको मनोबल र हौसला बढाउन स्थानीय सरकारका नाताले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख विष्णु कुमार भामले बताउनु भयो । काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको दिने चलन हामीबाटै शुरुवात गर्नु पर्छ। सबैलाई एउटै ठाउँमा राख्नु हुँदैन भन्ने मान्यताले अनुसन्धानमा दिनरात खटिने प्रहरीलाई सम्मान गरेको पनि नगरप्रमुख भामले भन्नुभयो ।

नगरप्रमुखबाट सम्मान पत्र ग्रहण गर्दै प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले यस्ता खालका सम्मान,समन्वय र सहयोगले नेपाल प्रहरीलाई हौसला मिल्ने गरेको र प्रहरी सङ्गठन प्रती जनताको विश्वास झन बढ्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको सम्मान प्रहरीलाई मात्र नभए अनुसन्धानमा सहयोग गर्ने सबैको सम्मान भएको पनि प्रनाउ थापाले बताउनु भयो ।

मन्दु सामूहिक हत्यामा २८ वर्षिया आमा श्रीदेवी बोहोरा, ११ बर्षिया छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिने छोरा रहर बोहोराको हत्या भएको थियो । 

हत्याका आरोपी गोपाल बहादुर बोहोरा मृतक श्रीदेवीका सहोदर मामाका छोरा दाजु नाता पर्थे भने अर्का आरोपी गोर्खराज शाही श्रीदेवीका सानी आमाका श्रीमान् नाताले काका नाता पर्थे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button