तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीसहित देशैभर छठको रौनक सुरु

सुनसरी । सुनसरीसहित देशैभर छठ पर्वको रौनक सुरु भएको छ ।

सूर्य उपासनाको महापर्व छठको तयारीमा सुनसरी क्षेत्रका जन–जन परिचालित भएको देखिन्छन् ।

पर्वको प्रारम्भ बर्तालुले शुक्रबार ‘नहाय–खाय’ विधिबाट गरेका छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा, मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।

छठले गर्दा सुनसरीको इनरुवा, इटहरी, दुहबी, गढी, बर्जू सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिन थालेका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ ।

पर्वले घर–घरमा व्यस्तता बढाएको र पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्त्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

शुक्रवार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले आज शनिवार कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूल देवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।

यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि भोलि आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान (भोरका अरख) सम्पन्न गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button