तपाईँ सुन्दै हुनुहुन्छः

आयुर्वेदको क्षेत्रमा नेपाल–भारत बीच थप सहकार्य हुने

 काठमाडौं । आयुर्वेद दिवसको अवसरमा भारतीय राजदूतावासले परम्परागत चिकित्सा आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गर्नुभयो ।

उहाँले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान–प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराउनुभयो ।

 उपप्रमुख श्रीवास्तवले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव हालै सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले  सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि लिएको पहलबारे प्रकाश पार्नुहुँदै आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख  गर्नुभयो । 

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताउनुभयो

कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भारत सरकार,आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button