तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुरमा ३ हजार ६ सय ३४ घर निर्माण

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा ३ हजार ६ सय ३४ घर निमार्ण भएका छन् । 

मुस्लिम तथा  सिमान्तकृत  समुदायलाई लक्षित गर्दै नेपाल सरकारले आर्थिक वर्ष ०७२–०७३ मा यो कार्यक्रम शुरु गरेको हो ।  आर्थिकवर्ष ०७५/०७६ मा सङ्घले प्रदेश सरकारलाई कार्यक्रम हस्तान्तरण गरेको थियो । 

मोरङमा १८ सय ३९, सुनसरीमा,१५ सय ८१ तथा उदयपुर जिल्लमा  १४ सय ४ घर निमार्ण गरि सेवाग्राहीलाई हस्तान्तरण गरिएको छ ।  ६ सय १५ घर  निर्माणाधीन अवस्थामा रहेको र सो घर चालु आर्थिकवर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको  सहरी विकास तथा भवन निमार्ण कार्यालय विराटनगरले जनाएको छ ।

यसरी पक्की घर पाएपछि लाभग्राही समेत खुशी भएका छन् । गैर दलित समुदायका लागि पनि सरकारले यस्ता घर निमार्ण गर्नुपर्ने लेटाङ नगरपालिकाका लाभग्राही गोपाल नेपालीको भनाई छ । 

जनता आवास कार्यक्रमको कार्यविधि र मापदण्ड अनुसार घर निमार्णका लागि लाभग्राहीको छनौट हुने गरेको कार्यालयका सव–इन्जिनियर ओमप्रकाश शर्माले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत जस्ताको छाना भएको दुई कोठे  घरको निमार्ण लागत ३ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसमध्ये १० प्रतिशत लागत सहभागिता आवश्यक हुन्छ । 

घर केही सानो  भएकाले   निमार्ण लागत केही थप गर्न सेवाग्राहीका गुनासो आउने गरेको   इन्जिनियर शर्माको भनाई छ ।

सरकारले अतिविपन्न समुदायलाई लक्षित गर्दै घर निमार्ण गर्दै आएकोमा कुल लागतको १० प्रतिशत रकम लाभग्राहीले व्यहोर्नुपर्ने हुन्छ । सो रकम व्यहाेर्न आफूहरूलाई समस्या पर्ने गरेको लाभग्राहीहरु बताउँछन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button