तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कोहलपुरमा खानेपानीको स्रोतको संरक्षण नहुँदा अवस्था भयावह

बाँके । खानेपानीको स्रोतको उचित संरक्षण नहुँदा कोहलपुरमा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोहलपुरमा बुधवार भएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले खानेपानीको उचित संरक्षण गर्नुपर्ने बताएका हुन् ।

कोहलपुर नगरपालिकाको आयोजना तथा लुमन्तीको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुषालले एकीकृतरुपमा बृहत् खानेपानी संस्थाको अवधारणाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरभित्रका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउन स्रोत व्यवस्थापन सबैभन्दा ठुलो चुनौती रहेको बताउनुभयो ।

कोहलपुर ८ का वडाध्यक्ष लालबहादुर रानाले स्थानीयस्तरमा रहेका खानेपानीको स्रोतको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले डुडुवा, मानखोल, किरणानाला जस्ता पानीका मुहानहरूलाई संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न यस्ता स्रोतहरू उपयोगी हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले बाँकेमा खानेपानीको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले भएका खानेपानीको स्रोतको पनि सही सदुपयोग हुन नसकेको प्रति दुख ब्यक्त गर्दै खेर गइरहेको पानीको व्यवस्थापनका लागि सबैले सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले बाँकेमा १५/२० वर्षदेखिका योजनाहरू अझै सम्पन्न हुन नसकेको अवस्थामा नयाँ योजनाहरू बनाउनु भन्दा एकिकृत रुपमा एउटै समिति बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा कोहलपुरका मेयर पूर्ण प्रसाद आचार्यले नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउन चुनौती रहेको बताउनुभयो ।उहाँले नगरभित्रका सबै खानेपानी समितिलाई मर्ज गरेर एकीकृत रूपमै एउटै समिति बनाउन सके सेवा थप प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लुमन्तीका कार्यक्रम संयोजक सूर्य कुमार खड्काले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार कोलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति सञ्चालनमा रहेका छन् भने ३ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । चालु अवस्थामा रहेका ४ वटा खानेपानी उपभोक्ता समितिबाट ६ हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्‍याइए पनि अझै धेरै नागरिक दूषित पान खान बाध्य रहेको खड्काले बताउनुभयो।

कोहलपुर नगरपालिका भित्र रहेका २४ हजार १ सय ८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने बताउँदै खड्काले पछिल्लो समय खानेपानी आयोजना मार्फत २५ प्रतिशत उपभोक्तालाई मात्र स्वच्छ खानेपानी पुर्‍याउन सकिएको बताउनुभयो। उहाँले अझै ७५ प्रतिशत नागरिक ट्युबवेल तथा बोरिङको पानी खान बाध्य रहेको तथ्याङ्क पेश गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button