तपाईँ सुन्दै हुनुहुन्छः

सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो

मुगु। जिल्ला प्रहरी कार्यालय मुगुले  मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक  छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।  छायानाथ रारा नगरपालिका–६ स्थित  मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए  । 

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले चारैजनाको   शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको  र आज शव परीक्षण हुने बताउनुुभयो । 

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दसँैको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन ।  यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ । 

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।  १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button