तपाईँ सुन्दै हुनुहुन्छः

‘संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ’

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताउनुभएको छ ।

बडा दसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताउनुभयो ।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई युवा पुस्ताले हटाउँदै जानुपर्ने बताउँदै महासचिव पोखरेलले नेपालमा सीमाका कारण लागूपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान नै थाल्नुपर्ने बताउनुभयो । समाजमा बढ्दो दुर्व्यसनी हटाउनका लागि गृह मन्त्रालयको मात्रै पहलकदमी अपुग हुने भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताउनुभयो ।

महासचिव पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरू कार्य व्यस्तताका कारण बालबालिकाको चासो नदेखाएका कारण दुर्व्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरूले चासो बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पालिकाका तर्फबाट लागूपदार्थ दुर्व्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो ।

प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले युवा जनशक्ति लागु पदार्थ दुर्व्यसनीमा बढिरहेकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button