तपाईँ सुन्दै हुनुहुन्छः

‘दसैँ नेपालीको साझा चाड’

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकाङ्क्षा भएको बताउनुभएको छ ।

बडा दसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिक रूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आशीर्वाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताउनुभयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकिर गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धर्मशिला चापागाँइले मुलुकमा जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँइले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दसैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताउनुभयो ।

विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दसैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button