तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीकाे गेटा अस्पताल सञ्चालन

धनगढी। बहुचर्चित गेटा मेडिकल कलेज सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कैलाली गेटामा आज देखि अस्पताल सञ्चालन आएको छ । सरकारले यो बर्ष एक सय शय्या विस्तार हुने गरि गेटामा अस्पताल सञ्चालनमा ल्याएको हाे ।

गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले आज कार्तिक १ गते देखि अस्पतालमा अाेपिडी सेवा शुरु गरिएको बताउनुभयो । यो बर्ष एक सय शय्या विस्तार गर्ने लक्ष्य सहित सरकारले आवश्यक बजेट विनियोजन गरेपछि गेटा अस्पताल सञ्चालनमा आएको उहाँले बताउनुभयो । सुरुवातीमा अस्पताल सञ्चालनका लागि आधारभूत उपकरण, भौतिक संरचना र विशेषज्ञ चिकित्सक सहित २६ जना स्वास्थ्यकर्मी खटनपटनको व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा जनरल अाेपिडी, हाडजोर्नी तथा नशा रोग, स्त्रीरोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला, फार्मेसी सेवा उपलब्ध रहेको डाक्टर जोशीको भनाई छ । उहाँले मङ्सिर देखि चैत्र भित्र अन्तरङ्ग सेवा, खोप सेवा, इमर्जेन्सी तथा प्रसूति सेवा विस्तार गर्ने तयारी रहेको बताउनुभयो ।

आगामी वैशाखमा आइसियु तथा एनआइसियू सेवा शुरु गरिने र अर्को बर्ष ३ सय शय्या विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । गेटामा अस्पताल सञ्चालनमा आउनु भनेको मेडिकल विश्वविद्यालय स्थापनाका लागि एउटा आधार खडा भएको रुपमा बुझ्नुपर्छ, गेटामा ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारी योजना छ, निर्देशक जोशीले भन्नुभयो ।गेटामा अस्पताल सञ्चालनमा आएपछि प्रदेशवासीलाई उपचार सेवा पाउन सहज हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमवासीले कैलालीकाे गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै आएका छन् । मेडिकल कलेजका लागि भन्दै गेटामा साढे ५ अर्ब बराबरका आधुनिक भौतिक पूर्वाधारका संरचना निर्माण सम्पन्न भएको छ । हाल खानेपानी विस्तार, सडक कालोपत्रे गर्ने जस्ता कार्य भइरहेको गेटा पूर्वाधार निर्माण विकास समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button